१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दशैंमा जनकपुरधामका शक्तिपीठहरु सुनसान, बलि र महाप्रसाद कार्यक्रम रोकियो


0
Shares

जनकपुर । कोरोना महामारीको त्रासमा यस वर्षको दशैंमा जनकपुरधामका शक्तिपीठहरुमा चहलपहल घटेको छ ।

हजारौंको भीडभाड हुने शक्तिपीठहरुमा श्रद्धालु भक्तजनको संख्यामा कमी आएको हो ।

प्रत्येक वर्ष दुल्ही झैं सजाइने शक्तिपीठहरुमा यसपाली बोकाबलीबाट आउने आम्दानी र चन्दा रोकिएपछि सरसजावटमा समेत कमी देखिएको छ ।

कोरोना महामारीका कारण आम जनताको स्वास्थ्यको ख्याल गदैं मन्दिर तथा शक्तिपीठहरुमा सम्भावित भीड रोक्न यसपाली बली दिने र महाप्रसाद कार्यक्रम रोकिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी गराउनुभएको छ ।

विजया दशमीको अष्टमीको दिन हुने बोकाको बलि र महाप्रसाद चढाउने कार्य कोरोना महामारीका कारण स्थानीय प्रशासनले रोकेपछि यहाँका श्रद्धालु भक्तजनको हर्षोल्लासमासमेत कमी देखिएको छ ।

भक्तजनको स्वास्थ्यको ख्याल गर्दै सामाजिक दूरीलगायतका मापदण्ड पालनामा बढी ध्यान दिइएको राजदेवी मन्दिरमा पूजा व्यस्थापक महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साह बताउनुहुन्छ ।

कोरोना महामारीले गर्दा प्रत्येक वर्ष लगाइने मेलासमेत जनकपुरका विभिन्न शक्तिपीठहरुमा लगाइएको छैन ।

दशैंको सस्तो बजार नलाग्दा यहाँका व्यवसायीलाई करोडौको घाटा व्योहर्नु परेको छ ।