
काठमाडौं, कात्तिक ६ । राष्ट्रिय परीक्षा बोर्डले आगामी मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा-१२ को परीक्षामा कोरोना संक्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ ।
बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड–१९ संक्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ ।
यो परीक्षा सामाजिक दूरीसहित छोटो अवधि सञ्चालन गरी ४० प्रतिशत प्राप्तांकका लागि लिइनेछ ।
विद्यार्थीको २० प्रतिशत लब्धांक आन्तरिक मूल्यांकन र ४० प्रतिशत कक्षा-११ को लब्धांकबाट गणना गरिनेछ ।
बोर्डले ४० प्रतिशत लब्धांकका लागि अनलाइन परीक्षासमेत गर्न सकिने विकल्प सुझाएकामा त्यसको विश्वसनीयतामा विभिन्न प्रश्न उठेपछि परीक्षा सञ्चलन हुने भएको हो ।
बोर्डले जिल्लाबाहिर रहेका परीक्षार्थीको विवरण संकलन गरी परीक्षामा सामेल गराउने तयारी गरेको छ ।
लामो समयको गृहकार्य र अन्योलपछि नेपाल सरकारको सैद्धान्तिक निर्णयबाट झन्डै पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गरेको हो ।
कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्