१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको मृत्यु


0
Shares

ब्रासिलिया, कात्तिक ६ । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरसविरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ ।

ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ ।

तर, एभिन्साले खोप परीक्षणको कार्य जारी रहने बताएको छ । एन्भिसाले स्वयंसेवी ती व्यक्तिले खोप लगाएका हुन् वा प्लासेबो लगाएका हुन् भन्ने स्पष्ट भइनसकेको जनाएको छ ।

तर, एन्भिसाले ती व्यक्तिको वैयक्तिक विवरण भने उपलब्ध गराउन अस्वीकार गरेको छ ।

अक्सफोर्ड विश्वविद्यालयले ब्राजिली नियामक निकाय एन्भिसाको सिफारिसबमोजिम खोप परीक्षण अभियान जारी रहने जनाएको छ ।

विश्वविद्यालयले ‘क्लिनिकल’ परीक्षणकाबारेमा सुरक्षात्मक कुनै समस्या नरहेको पनि बताएको छ ।

खोप निर्माता अस्ट्राजेनिकाले भने उक्त घटनाकाबारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ । अस्ट्राजेनिकाले खोप अभियान रोक्ने वा स्थगित गर्नेबारेमा पनि केही बताएको छैन ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अद्यावधिक विवरणअनुसार ब्राजिलमा ५२ लाख ७४ हजार व्यक्ति कोरोना संक्रमित भएका र एक लाख ५४ हजार ८३७ जनाको मृत्यु भइसकेको छ ।