२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


उपत्यकाका किसानलाई धान उठाउने हतारो


0
Shares

काठमाडौं, कात्तिक ६ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेपनि काँठक्षेत्रमा भने यसको खासै असर देखिएको छैन ।

चाडबाडकै बीचमा काँठक्षेत्रका किसानलाई पाकेको धानबाली थन्क्याउन भ्याइ–नभ्याइ छ ।

असोज महिनामा मनाइने दशैं यसपटक अधिकमासको कारण एक महिना पर धकेलिएपछि किसानहरु दोहोरो हतारमा छन् ।

एकातर्फ कोरोनाको जोखिमसँगै पाकेको धान उठाउन हतार छ भने अर्कोतर्फ दशैं नजिकिएर पर्व मनाउने हतार छ ।

हामी ललितपुर दक्षिण क्षेत्रको धान खेत पुग्दा किसानहरु कोही धान काट्दै थिए भने कोही धान उठाउँदै थिए । कोही भने धान झार्दै थिए ।

खेतमा भेटिएका किसानहरुले धान उठाउने काम सकेर दशैं मनाउने योजना रहेको बताए ।

त्यस्तै, कोरोना संक्रमणको जोखिम भएपनि गाउँमा त्यसको असर नपरेकोले धान काट्ने काममा आफूहरु व्यस्त भएको किसानहरुको भनाइ छ ।

काठमाडौं उपत्यकामा असारमा धान रोपेर कात्तिकभित्र थन्क्याइसक्ने चलन छ ।

उपत्यकामा चिसो छिटो बढ्ने र कात्तिकमा पानी परे धान भुइँमा झरेर नष्ट हुने भएकाले पनि पाकेको धान हतार-हतार उठाउने गरिन्छ ।