
काठमाडौं, कात्तिक ६ । साझा पार्टीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
गोयलको ‘अचानक’ नेपाल भ्रमण र प्रधानमन्त्री केपी शर्मा ओलीसित भेट गरेर फर्किएको विषयप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
साझा पार्टीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी गोयलको नेपाल भ्रमणका बारेमा स्पस्ट पार्न माग गरेको हो ।
‘के रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन् ? यदि, हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्’-पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘होइन भने आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्दछ ।’
साझा पार्टीले परराष्ट्र मन्त्रालयको कूटनीतिक आचारसंहिता पालना गर्नपनि सबै नेताहरूलाई पुनः आग्रह गरेको छ ।
विज्ञप्ति पढ्नोस्
भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर फर्किएको विषयप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
के रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन्? यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्दछ।
त्यो प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमण हो।
के रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन्? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन्? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन?
एकातिर परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ दिल्लीले नदिनु र अर्कोतिर खुफिया एजेन्सीका प्रमुख आएर सिधै प्रधानमन्त्रीलाई भेट्नुले नेपाली कुटनीति भारतसँगको सम्वन्धमा कुन तहमा गिरेको छ भन्नेमात्र स्पष्ट पार्दैन, त्यसले अन्य देशहरूसँगको हाम्रा कुटनीतिक सम्बन्धलाई पनि अत्यन्तै हलुका र सस्तो बनाइदिनेछ।
साझा पार्टी प्रधानमन्त्री ओलीको यस्तो लज्जाजनक रवैयाको गम्भीर भर्त्सना गर्दछ। यो दशकौँदेखि नेपालका शीर्ष भनिएका नेताहरूले देखाइरहेको आचरणकै निरन्तरता हो। यस्तो आचरणलाई रोक्न र परराष्ट्र मन्त्रालयको कुटनीतिक आचारसंहिता पालना गर्न साझा पार्टी सबै नेताहरूलाई पुन: आग्रह गर्दछ।
शरदराज पाठक
प्रवक्ता, साझा पार्टी
मिति: ०६ कार्तिक २०७७
प्रतिक्रिया दिनुहोस्