१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भोलिदेखि ‘क्लिनफिड’, अटेर गर्नेलाई कारबाहीको चेतावनी


0
Shares

काठमाडौं, कात्तिक ६ । सरकारले शुक्रबार (भोलि)देखि विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवाप्रदायकहरुलाई आग्रह गरेको छ ।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्नेक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कात्तिक ७ गतेदेखि ‘क्लिनफिड’सहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गर्नुभएको हो ।

नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि २०७७ कात्तिक ७ गतेसम्म रहेकोले उक्त दिनदेखि क्लिनफिडलाई पूर्णरुपमा लागू गर्न उहाँले आग्रह गर्नुभएको हो ।

२०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो । त्यसको ठिक एक वर्षदेखि क्लिनफिड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गतेदेखि विदेशी च्यानलमा विज्ञापनरहित क्लिनफिड प्रसारण गर्नुपर्नेछ ।

क्लिनफिड कार्यान्वयनमा आए/नआएको सम्बन्धमा विज्ञापन बोर्डले अनुगमन गर्नेपनि मन्त्री गुरुङले स्पस्ट पार्नुभएको छ ।

मन्त्रालयका सहसचिव डिल्लीराम शर्माको अध्यक्षतामा विज्ञापन बोर्ड गठन भइसकेको छ । नवगठित विज्ञापन बोर्डले क्लिनफिड लागू भए/नभएको सम्बन्धमा अनुगमन गर्न आवश्यक तयारी पूरा गरिसकेको छ ।

कात्तिक ८ गतेदेखि नेपालमा क्लिनफिड लागू नगर्ने कुनैपनि सेवाप्रदायकलाई कानुनअनुसार कारबाही गरिनेपनि मन्त्री गुरुङले बताउनुभयो ।