
काठमाडौं, कात्तिक ६ । विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा नेपालको स्थान यथावत् छ ।
कोरोनाभाइरसको महामारीका कारण कुनैपनि खेल नखेलेका कारण नेपालको वरीयतामा फेरबदल नभएको हो ।
फिफाले बिहीबार जारी गरेको वरीयतामा नेपाल १७०औं स्थानमा कायमै छ । फिफाले यसअघि वरीयताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो ।
कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन । नेपालले आउँदो महिना भने बंगलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
दक्षिण एसियाली राष्ट्रको वरीयतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत १०८औं स्थानमा छ ।
यस्तै, माल्दिभ्स १५५, बंगलादेश १८७, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलंका २०६औं स्थानमा छ ।
विश्व वरीयताको शीर्ष स्थानमा भने बेल्जियम कायमै छ । फ्रान्स, ब्राजिल, बेलायत र पोर्चुगल वरीयताको क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्