
काठमाडौं, कात्तिक ७ । काठमाडौं उपत्यकामा यसपटक किसानले ल्याएको खसी-बोका न्यून देखिएको छ ।
कोभिड-१९ संक्रमणको जोखिमका कारण यसपटक किसानहरुले पर्याप्त संख्यामा खसी-बोका बिक्रीका लागि ल्याउन सकेका छैनन् ।
काठमाडौंमा नजिकका जिल्लाहरु धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलान्चोकलगायतका जिल्लाबाट किसानहरुले सिधै खसी-बोका ल्याएर बिक्री गर्ने गरेका छन् ।
तर, यसपटक गत वर्षजस्तो व्यापार नभएको किसानहरुले बताएका छन् । कोरोना संक्रमणको जोखिमका कारण पर्याप्त संख्यामा खसी-बोका ल्याउनसमेत नसकेको उनीहरुले बताए ।
यसरी काठमाडौं आइपुग्ने खसी-बोकाको बिक्री-वितरण अनौपचारिकरुपमा हुने र अन्य व्यवसायीहरुले काठमाडौंमा ल्याएर बिक्री गर्नेभन्दा सस्तोमा पाउने भएकाले पनि ग्राहकको भिड लाग्ने गरेको छ ।
तर, यसपटक कोरोना संक्रमणको जोखिमका कारण ग्राहकको भिड पनि देखिएन ।
काठमाडौंमा यसरी किसानले स्वयं खसी-बोका बिक्री गर्दा पशुचौपायाको बिक्री गर्दै आएका विभिन्न व्यावसायिक संस्थाहरुले भने विरोध गर्ने गरेका छन् ।
तर, काठमाडौंका ग्राहकले सिधै किसानसँग किन्न पाइने र खसी-बोका निरोगी हुने साथै ठगिने डर कम हुने भन्दै आकर्षण देखाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्