
मोरङ, कात्तिक ७ । प्रदेश नम्बर-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ ।
मन्त्री कार्कीले ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा बिहीबार स्वाब परीक्षण गर्नुभएकामा शुक्रबार कोरोना ‘पोजिटिभ’ पुष्टि भएको उहाँका निजी सचिव रवि खनालले जानकारी दिनुभयो ।
मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गराउनुभएको थियो ।
उहाँ अहिले विराटनगरस्थित निवासमा ‘आइसोलेसन’मा बस्नुभएको छ । मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ ।
उहाँले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।
यसैगरी, मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजिटिभ देखिएको छ । उहाँ अहिले सुनसरीको धरानस्थित निवासमा आइसोलेसनमा बस्नुभएको छ । उहाँको स्वास्थ्यावस्था पनि सामान्य छ ।
दुईको मृत्यु
कोरोना संक्रमणबाट विराटनगरमा शुक्रबार दुईजनाको मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा मोरङ र सुनसरीका एक/एक पुरुष र महिलाको उपचारकाक्रममा बिहान मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिनुभयो ।
अस्पतालमा बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । उहाँ फोक्सो र मिर्गाैलासम्बन्धी रोगबाट पीडित रहेको अस्पतालले जनाएको छ ।
उहाँमा यही कात्तिक ५ गते पोजिटिभ देखिएपछि उहाँलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।
यसैगरी, धरान उपमहानगरपालिका–८ की ५९ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । उहाँ गत असोज २९ गते अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । सोही दिन उहाँमा कोरोना पोजिटिभ देखिएको थियो ।
श्वासप्रश्वास र मधुमेह रोगबाट पीडित महिलाको उपचारका क्रममा मृत्यु भएको दाहालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्