
काठमाडौं, कात्तिक ७ । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर-९ को नयाँ भवन उद्घाटन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले महानगरका ३२ ओटै वडा कार्यालयलाई सुविधासम्पन्न बनाउन लागिएको बताउनुभएको हो ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने संस्था भएको र पहिलो गुनासो सुन्ने निकायसमेत वडा कार्यालय भएकाले महत्वका साथ पूर्वाधार निर्माण भइराखेको उहाँले बताउनुभयो ।
उहाँले कुनै समस्या भए आफ्नो वडा कार्यालयमा निर्धक्क राख्नसमेत नगरबासीहरुलाई आग्रह गर्नुभएको छ ।
यस्तै, कुनैपनि क्षेत्रमा विकासका कामहरु गर्न बाँकी रहेको वा गर्नुपर्ने भएपनि वडा कार्यालयमार्फत् जानकारी गराउनसमेत आग्रह गर्नुभएको छ ।
सबै कामका लागि मेयर नै नचाहिने भएकाले वडाध्यक्षमार्फत् आफ्ना समस्याहरु राख्न उहाँले आग्रह गर्नुभयो ।
महानगरभित्र पूर्वाधार निर्माणका धेरै काम गर्न बाँकी रहेको र ती कामहरुमा नगरबासीको सहयोगको अपेक्षासमेत मेयर शाक्यले गर्नुभयो ।
महानगरबासीलाई सेवा-सुविधा दिनका लागि पनि वडा कार्यालयलाई सुविधासम्पन्न बनाउनुपर्ने उहाँले बताउनुभयो । त्यसैले पहिलो प्राथमिकतामा सबै वडा कार्यालयको भवनको निर्माणलाई राखिएको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्