२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वसन्तपुरस्थित दशैंघरमा पनि भित्र्याइयो फूलपाती


0
Shares

काठमाडौं, कात्तिक ७ । काठमाडौंको ऐतिहासिक वसन्तपुरस्थित विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानध्वाखाको दरबारमा रहेको दशैंघरमा पनि शुक्रबार फूलपाती भित्र्याइएको छ ।

वसन्तपुरको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।

फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छजनाले ल्याउने र जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छजनाले ल्याउने परम्परा छ ।

जमलस्थित जमलेश्वर महादेवमा पूजा गरी साँस्कृतिक बाजागाजाका साथ कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै हुनमानध्वाखा दरबारमा फूलपाती भित्र्याइएको थियो ।

नासलचोकमा वैदिक परम्पराअनुसार फूलपातीको पूजा गरी मूलचोकमा तान्त्रिक विधिबाट बलि दिइ हुनमानध्वाखाको दशैंघरमा भित्र्याइएको हो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौं जितेपछि गोर्खा दरबारबाट हुनमानध्वाखा दरबारमा फूलपाती भित्र्याउने चलन सुरु गर्नुभएको थियो । यो परम्परालाई हालसम्म पनि निरन्तरता दिइँदै आएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मौलो पूजाका लागि हनुमानध्वाखाबाट फूलपाती लगेका छन् ।