१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्रधानमन्त्री सचिवालयको स्पष्टीकरण-‘निशान छापमा प्रयुक्त नक्सामा सबै भाग देख्न सकिन्छ’


0
Shares

काठमाडौं, कात्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने उहाँको सचिवालयले जनाएको छ ।

नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वाभाविक भएको र केही ठूलो आकारको सोही नक्सामा सबै प्रष्ट देख्न सकिने जनाउँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन खोजिएको जनाउनुभएको छ ।

उहाँले शुक्रबार जारी गर्नुभएको ‘प्रेस नोट’मा लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साको औपचारिक प्रयोगका लागि संसदको सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको र तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम प्रधानमन्त्री ओलीकै दृढ र साहसिक नेतृत्वमा चालिएको स्मरण गराइएको छ ।

‘अहिले यस विषयमा योजनबद्धरूपमा सिर्जना गर्न खोजिएको भ्रम अनुचित छ । त्यस्तो कुनै भ्रम र कुप्रचारको अन्योलमा नपर्न सबै न्यायप्रेमी, देशभक्त र जिज्ञासु महानुभावमा हार्दिक अनुरोध गर्न चाहन्छु’-प्रेस नोटमा भनिएको छ ।