२२ चैत्र २०८१, शुक्रबार | Fri Apr 4 2025


ब्राह्मणका लागि पशुबलि वर्जित ! पशुबलिबारे के छ शास्त्रमा ?


0
Shares

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ ।

महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाको विशेष पूजाआजा गरिनाका साथै दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो ।

ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको बताइन्छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको भनाइ छ ।

दुर्गा शप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने तर्क पनि गरिन्छ । राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन पनि रहिआएको छ ।

पशुबलिको विधि र पूजाआजासहित कालरात्रि मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

पशुबलि नचढाउनेले भने पूजाकोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन् । हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।

तर पशुबलिबारे फरक रुपमा पनि ब्याख्या गरेको पाइन्छ । संसारमा रहेका कुनै पनि धर्मका मूलग्रन्थहरुको सूक्ष्म अध्ययन, अवलोकन र निदिध्यासन गर्ने हो भने तिनले सबै प्राणीमाथि दया, करुणा, मायाकै लागि सदा प्रेरित गरिरहेको पाइन्छ।

कालान्तरमा आआफ्नो स्वार्थ र चाहना अनुसार तिनको व्याख्यालाई आफ्नो अनुकूलको बनाउने प्रयासले अनेकन् भ्रम र अपव्याख्या गरिएको देखिन्छ। शास्त्रको नाममा आफू अनुकूलका व्याख्या गरेर शास्त्रलाई दुषित बनाएको पनि विश्लेषण हुन थालेको छ ।

स‍ंसार मानिसको मात्र होइन, सृष्टिका सबै पशुप्राणीहरुको पनि भएकाले वेद भन्छ पशून् पाहि मां हिंसात् अर्थात् कुनै पनि पशुप्राणीको हत्या गर्नु हुँदैन। स्कन्द पुराणमा स्पष्ट पार्दै भनिएको छ ।