
इलाम । इलाममा स्वास्थ्य बिमा प्रभावकारी बन्दै गएको छ ।
बिमाबाट दुर्घटना, स्वास्थ्य खर्च, अपांगता वा आकस्मिक मृत्यु र अंगभंग हुँदा सहयोग पुग्ने भएकाले बिमितको संख्या बढ्दै गएको हो ।
आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले नेपाल सरकार सामाजिक स्वाथ्य विकास समितिमार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रम इलाममा प्रभावकारी बन्दै गएको हो ।
भौगौलिक कठिनाइ, गरिबी र पछिल्लो समय नागरिकको चेतनास्तर बढ्दै गएपछि चुनौतिका बाबजुद पनि बिमा कार्यक्रममा नागरिकको आकर्षण बढ्दै गएको स्वास्थ्य बिमा बोर्ड इलामका प्रमुख खेम अधिकारीको बताउनुभयो ।
०७३ सालदेखि सुरु गरिएको बिमा कार्यक्रमअन्तर्गत इलाममा हालसम्म झण्डै एकलाख भन्दा बढीले स्वास्थ्य बिमा गराएका छन् ।
१० हजार ८ सय ९ जना जेष्ठ नागरिक २६ जना कोरोना संक्रमित र ४ सय १ जना शारिरीक रुपले अशक्त भएकाहरुले रातो कार्ड प्राप्त गरी बिमासेवा लिन सुरु गरिसकेका छन् ।
इलामको कुल जनसंख्या मध्य ५० प्रतिशत नागरिकले बिमा गरिसकेका छन् । बिमा लागू भएपछि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन् ।
स्वास्थ बिमाकै कारणले अस्पतालमा चाप समेत बढेको इलाम अस्पतालका चिकित्सकहरुको भनाइ छ ।
प्रत्येक परिवारमा ५ जनासम्मको लागि ३ हजार ५ सय रुपैया र ५ जनाभन्दा माथिको संख्या भएमा थप ७ सय रुपैयाँ शुल्क लाग्ने छ ।
बिमा गरेपछि स्थानीयले एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई १ लाख रुपैयासम्मको स्वास्थ्य सेवा, उपचार र औषधि प्रदान गरिनेछ ।
तर, त्यस्तो सेवा भने समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिन्छ । गरिब नागरिकका लागि स्वास्थ्य बिमा बढी प्रभावकारी बनेको छ ।
पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने समस्याबाट मुक्त हुने भएकाले सबै नागरिकलाई स्वास्थ्य बिमा सहज भएको हो ।
गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न सके सर्वसाधरणको स्वास्थ्यमा समेत सुधार ल्याउन सकिने थियो ।
प्रतिक्रिया दिनुहोस्