
डडेलधुरा, कात्तिक ८ । अष्टमी मेलामा ठूलो भिड लाग्ने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध भगवती मन्दिर उग्रतारा दर्शनमा रोक लगाइएको छ ।
कोरोनाभाइरसको संक्रमण बढ्नसक्ने भन्दै अष्टमी मेलामा रोक लगाइएको हो ।
डडेलधुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिकाको दशरथचन्द राजमार्गसँगै अवस्थित प्रमुख धार्मिक पर्यटकीयस्थल महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा विगत वर्षका अष्टमीमा हजारौं दर्शनार्थी तथा भक्तजनहरुको घुइँचो लाग्ने गरेको थियो ।
कोरोना महामारीका कारण राँगा, बोकाको पशुबलिमा पनि रोक लगाउँदा देवीलाई भाकल गरेका स्थानीय भक्तजनहरु भने अप्ठ्यारोमा परेका छन् ।
स्थानीय प्रशासनले कोरोना संक्रमणको नियन्त्रणका लागि अष्टमी मेलालगायतका मेलामा भिडभाड नगर्न आग्रह गरेको छ ।
बलि चढाउने भाकल गरेका समस्त भक्तजनहरुको तर्फबाट उग्रतारा क्षेत्र विकास समितिमार्फत् एक राँगा र एक बोकाको बलि दिइने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्