
काठमाडौं, कात्तिक ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेकोप्रति नागरिक अगुवाहरुले आपत्ति जनाएका छन् ।
शनिबार २३ जना नागरिक अगुवाहरुले सामूहिकरुपमा एक अपिल जारी गरी प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई भेटेकोप्रति आपत्ति जनाएका हुन् ।
अपिलमा भनिएको छ-‘विदेशी जासुसी विभागका प्रमुखलाई प्रधानमन्त्रीले रातिको समयमा आफ्नै सरकारी निवासमा भेट्नु कुनैपनि अर्थमा जायज मान्न सकिन्न ।’
अपिलमा अगाडि भनिएको छ-‘प्रधानमन्त्रीले आफ्नो देशका उपयुक्त तहका अधिकारीसँग भेट्न लगाएर अन्त्यमा शिष्टाचार भेट दिन आवश्यक भए सम्बद्ध सरकारी अधिकारीसहित शिष्टाचार भेट हुनुपर्नेमा सोझै जासुसी विभागका प्रमुखलाई त्यो पनि जुन समयमा, जहाँ-जसरी देशको कार्यकारीले भेट गर्नुभयो, त्यसलाई जसरी प्रतिरक्षा गरेपनि कुनै हालतमा जायज मान्न सकिँदैन ।’
उनीहरुले भ्रमणको एजेन्डा, आमन्त्रण र कुराकानीलगायतका गतिविधिसमेत गोप्य राख्नु झन् आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।
अपिल जारी गर्नेहरुमा दीपेन्द्रबहादुर क्षत्री, द्वारिकानाथ ढुंगेल, पीताम्बर शर्मा, भैरव रिसाल, युवराज संग्रौला, लीलामणि पौडेल, सूर्यनाथ उपाध्याय, सूर्यराज आचार्य, हरि रोकालगायत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्