१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खेर जाँदै सयपत्री फूल


0
Shares

काठमाडौं, कात्तिक ८ । काठमाडौं आसपासका क्षेत्रमा यतिबेला किसानले लगाएको सयपत्री फूल फुलिसकेको छ । यस वर्ष अधिकमास परेका कारण दशैं र तिहार करिब एक महिना पछाडि सरेको छ ।

किसानले तिहारका लागि भन्दै फूलखेती गर्दै आएका छन् । तर, यसपटक फूल फुल्ने समयभन्दा तिहार पछाडि परेको छ । जसका कारण तिहार आइपुग्दासम्म सयपत्री फूल सुकिसक्ने देखिएको छ ।

फूलको माग हुने समयमा फूल फुलेर पनि सुकिसक्ने भएपछि किसानहरु चिन्तित देखिएका छन् ।

काठमाडौं इचङ्गुनारायण क्षेत्रका किसानहरुले तिहारलाई लक्षित गरेर उत्पादन गरेको फूल यस वर्ष त्यसै खेर जाने भएको छ ।

दशैंमा फूलको प्रयोग कम हुने र तिहारसम्म यो फूल रहन नसक्ने भएपछि किसानको आम्दानीसमेत घट्ने भएको छ ।

अहिले फूल ढकमक्क फुलिसकेको छ र बढीमा एक हप्तासम्ममात्र बोटमा रहनसक्छ । फूलबाट हुने आम्दानी घटेपछि तिहार कसरी मनाउने भन्ने अप्ठेरोमा किसानहरु छन् ।

अघिल्लो वर्ष एक गुच्छा फूलको १५ रुपैयाँको दरले बिक्री गरेका यहाँका किसानले यस वर्ष पाँच रुपैयाँमा पनि बिक्री नभएको बताउँछन् ।

उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

यसबाहेक काठमाडौंका साना-ठूला मन्दिरहरुमा चाडपर्वबाहेक दिनहुँ हुने नित्य पूजा र दर्शनार्थीले प्रयोग गर्ने फूल उपत्यकाको काँठ क्षेत्रबाट आउँदछ ।

तर, यस वर्ष कोरोना महामारीका कारण अधिकांश मठ-मन्दिर दर्शनार्थीका लागि बन्द हुँदा पनि फूलको व्यापारमा असर परेको छ ।

इचङ्गु क्षेत्रसँगै काठमाडौंको दक्षिणकाली, छैमले क्षेत्रबाट पनि फूल आउने गर्दछ । यस क्षेत्रको किसानको वैकल्पिक आयको स्रोत पनि फूल नै हो । किसानहरुले सयपत्री, मखमली र गोदावरी फूल उत्पादन गर्दै आएका छन् ।

व्यावसायिकरुपमा फूल खेतीगर्दै आएका किसानहरु पनि फूल बिक्री नभएपछि चिन्तित छन् ।