
काठमाडौं, कात्तिक ८ । अर्थमन्त्री विष्णु पौडेलले पुँजीगत खर्चको कमजोर अवस्था सुधार गर्न नीतिगत प्रबन्धलाई सच्याउनुपर्ने बताउनुभएको छ ।
उहाँले कतिपय कानुनी प्रबन्धका कारण पुँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानुनहरुलाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको हो ।
अर्थमन्त्री पौडेलले कतिपय कानुनी नियमगत प्रबन्धहरु अथवा अरु चिजहरुका कारण पुँजीगत खर्चमा बाधा सिर्जना गरेकोले तिनीहरुलाई सुधार गर्दै पुँजीगत खर्चलाई बढाउने योजनामा आफू रहेको बताउनुभयो ।
वर्तमान अवस्थामा कोभिड-१९ ले सिर्जना गरेको चुनौतीलाई सामना गर्दै कुनैपनि आयोजनालाई निरन्तरता दिइ खर्च बढाउने रणनीतिमा आफू रहेको उहाँको भनाइ छ ।
अर्थमन्त्री पौडेलले राजस्व परिचालनको पाटो पनि अहिलेको परिस्थितिमा चुनौतीपूर्ण रहेको बताउनुभयो ।
उहाँले बन्दाबन्दीका कारण आर्थिक क्रियाकलापमा संकुचनको अवस्था देखापरेको र त्यसले उत्पादन, बजार र आम्दानीमा प्रभाव पारेकाले राजस्व संकलनमा चुनौती थपिएको बताउनुभयो ।
तर पनि चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा भएको राजस्व संकलनको स्थितिअनुसार लक्ष्यको नजिक पुग्ने सम्भावना देखिएको अर्थमन्त्रीको भनाइ छ ।
अर्थमन्त्री पौडेलले सरकार र राज्यका विभिन्न निकायहरुको खर्चको सम्बन्धमा मितव्ययिता अपनाउने विषयमा आफ्नो ध्यानकेन्द्रित रहेको उल्लेख गर्नुभयो ।
सरकारका खर्चहरुमा मितव्ययिता कायम गर्ने, अर्थतन्त्रलाई पुरानै लयमा फर्काउनेलगायतको विषयमा आफू रणनीतिकरुपमा अगाडि बढ्ने तयारीमा रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्