
काठमाडौं, कात्तिक ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पर्सामा भएको सत्तारुढ दल नेकपाका कार्यकर्ता हत्याको घटना सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
दोषीमाथि कारबाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेको घटनाप्रति कांग्रेसले ध्यानाकर्षण भएको जनाएको हो ।
कांग्रेसले घटनालाई ‘अत्यन्तै दुःखद्’ भनेको छ ।
घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, घटनाको छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न कांग्रेसले सरकारसमक्ष माग गरेको छ ।
गएको बिहीबार नेकपाकै स्थानीय दुई समूहबीच झडप हुँदा घाइते भएका नेकपा बिन्दबासिनी गाउँपालिका समितिका सचिव मुकेश चौरसियाको उपचारका क्रममा मृत्यु भएको थियो ।
‘नागरिकको जीवनरक्षा राज्यको प्रथम कर्तव्य हो । तर, नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति-सुरक्षाको स्थिति गम्भीर बन्दै गएको छ’-कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।
‘सत्ता उन्मादमा रहेको दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको’ उहाँको भनाइ छ ।
घटनाको तीन दिन पुग्दासम्म जाहेरीसमेत नलिएर नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद् र निन्दनीय भएको कांग्रेसले जनाएको छ ।
घटनाको निष्पक्ष अनुसन्धान र कारबाही प्रक्रिया अविलम्ब थाल्न कांग्रेसले संघीय र प्रदेश दुवै सरकारको ध्यानाकर्षण र माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्