
जनकपुरधाम, कात्तिक ९ । कोरोना महामारीका कारण जनकपुरधामका व्यवसायीमा निराशा देखिएको छ ।
प्रत्येक वर्ष दशैंको अवसरमा लाग्ने दशैं सस्तो बजार नलागेपछि व्यापार नभएको भन्दै व्यापारी निराश भएका हुन् ।
यो वर्ष कोरोनाभाइरस महामारीले मध्यनजर गर्दै जनकपुरधाममा सस्तो बजार लगाइएन । दशैंको बेला सस्तो बजार लाग्ने गोपाल धर्मशाला पनि अहिले सुनसान रहेको छ ।
आमनागरिकको स्वास्थ्यको ख्याल गर्दै जिल्ला प्रशासन कार्यालयले गरेको निर्देशनबमोजिम आयोजक संस्था जनकपुर उद्योग वाणिज्य संघले व्यवसायीहरुबाट दबाब भएपनि सस्तो बजार सञ्चालन गरेको छैन ।
उद्योग वाणिज्य संघ धनुषाले विगत ४३ वर्षदेखि स्थानीय गोपाल धर्मशालामा दशैं अवधिभर सस्तो बजार आएको थियो ।
४३ वर्षको इतिहासमा दोस्रोपटक जनकपुरधाममा सस्तो बजार लाग्न सकेको छैन । यसअघि, मधेस आन्दोलनको क्रममा २०७३ सालमा लाग्न सकेको थिएन ।
घटस्थापनादेखि दशमीसम्म चल्ने दशैं बजार लाग्न नसकेपछि व्यवसायीमात्र होइन, आमउपभोक्तामा समेत निराशा देखिएको छ ।
बजारदरभन्दा सस्तो मूल्यमा सामानहरु पाउने आशमा महिनौंदेखि उपभोक्ताहरु पर्खाइमा बस्ने गर्थे । तर, यसपालि दशैं बजार नलागेपछि तिनीहरु किनमेलका लागि भारतीय सीमावर्तीमा बजारमा जाने गरेका छन् ।
खाद्यपदार्थदेखि लुगा-कपडासहित दैनिक उपभोग्य सामग्रीको करोडौंको कारोबार हुने सस्तो बजार बन्द भएकोले विक्रेतालाईमात्र नभइ उत्पादक कम्पनीलाईसमेत घाटा भएको छ ।
करिब २० वर्षदेखि दशैं बजारको स्टलमा व्यापार गर्ने कपडा व्यवसायी दीपक साहले भने यसपालि दशैं सस्तो बजार नलाग्दा पसलमा समेत ग्राहक आउन छाडेको बताउनुहुन्छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले यसपटक कोरोना महामारीको समयमा सस्तो बजार नलाग्दा १० करोडभन्दा बढीको व्यवसायीहरुलाई क्षति भएको जानकारी गराउनुभएको छ ।
जनकपुरधाममा लाग्ने दशैं सस्तो बजारमा यहाँका उपभोक्तामात्र नभइ छिमेकी जिल्ला महोत्तरी, सिरहा, सिन्धुली, सर्लाही, उदयपुर तथा सीमावर्ती भारतीय क्षेत्रका समेत आउने गर्थे । जसले बजारमा भरिभराउ हुन्थ्यो । अहिले त्यो रौनकता हराएको छ ।
प्रतिक्रिया दिनुहोस्