
काठमाडौं, कात्तिक ९ । भारतीय सेनाको विशेष विमानबाट गएको बुधबार काठमाडौं आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले सोही दिन मध्यराति प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँकै निवास बालुवाटारमा गोप्य भेटवार्ता गरेपछि सत्तारुढ दल, प्रतिपक्ष दल र कूटनीतिक क्षेत्रबाट चर्को विरोध भइरहेको छ ।
ओली र गोयलबीचको भेटवार्तालाई लिएर सत्तारुढ दलभित्रै ओलीइतर पक्ष सशंकित भएको छ भने ओली पक्षका नेताहरु बचाउमा लागेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओली र रअका प्रमुख गोयलको भेटवार्ताको विरोध गर्नुभएको छ ।
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले कूटनीतिक मर्यादाविपरीत रअका प्रमुखसँग गरेको भेटले राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने टिप्पणी गर्नुभएको छ ।
‘बिनाकुनै निर्धारित् कार्यसूची, समकक्षीझैं प्रधानमन्त्रीले विदेशी गुप्तचर संस्थाका प्रमुखसँग वार्ता गरेको यो पहिलो घटना’ भएको भन्दै श्रेष्ठले ‘प्रधानमन्त्रीको यस्तो भेट किन ?’ भन्दै प्रश्न गर्नुभएको छ ।
तर, ओली पक्षका नेताहरुले भने भेटवार्ताको बचाउ गरेका छन् । शनिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले ‘रअ प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशवाहकका रुपमा नेपाल आएको र प्रधानमन्त्री ओलीसँग सीमा समस्याका विषयमा भेटवार्ता गरेको’ बताउनुभएको छ ।
तर, प्रवक्ता श्रेष्ठले भारतीय प्रधानमन्त्री मोदीले सन्देशसहित गोयललाई नेपाल पठाएको नदेखिएको जिकिर गर्नुभएको छ ।
पूराना वामन्थी नेता एंव नेकपा मालेका महासचिव सीपी मैनालीले भारतीय गुप्तचर संस्थाले नेकपाभित्रको पछिल्लो विवादमा खेल्न खोजेको हुनसक्ने टिप्पणी गर्नुभयो ।
राजनीतिक र कूटनीतिक क्षेत्रमा सीमा विवादको विषयलाई लिएर भारतले नेपाललाई झुकाउन खोजेको अर्थ लगाइएका छन् ।
महासचिव मैनाली भेटवार्तामा भएका विषयहरु सार्वजनिक नगर्नु थप रहस्यमय भएको जिकिर गर्नुहुन्छ ।
नेपाल र भारतबीच तमाम समस्या रहेको अवस्थामा दुई देशबीच संवाद हुन राम्रो भएपनि पात्र र प्रक्रिया गलत भएको मैनालीको टिप्पणी छ ।
त्यसो त रअ प्रमुख गोयललाई नेपाल भ्रमण गर्न उडानको अनुमति दिएपनि परराष्ट्र मन्त्रालयलेसमेत भ्रमणप्रति अनविज्ञता जनाएको थियो ।
गोयल नयाँदिल्ली फर्केपछिमात्रै प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री र गोयलबीच भेटवार्ता भएको पुष्टि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्