
म्याग्दी, कात्तिक ९ । म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको कारण जोखिममा रहेका २० बस्ती स्थानान्तरण गरिने भएको छ ।
पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले जोखिममा परेका बस्तीको पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र संघीय सरकारसमक्ष स्थानान्तरणका लागि सिफारिस गरेको हो ।
गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक, सुरक्षाकर्मीको संयुक्त टोलीले पहिरो, कटान र बाढीले क्षति पुर्याएका बस्तीको स्थलगत निरीक्षण गरी प्रतिवेदन तयार पारेको प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले बताउनुभयो ।
उहाँले जमिनको धाँजा फाटेर चिरापरेका र पहिरो नजिकै भएका बस्तीमा रहेका घरलाई थप क्षति हुन नदिन तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्न सिफारिस गरिएको बताउनुभयो ।
बस्ती स्थानान्तरणका लागि प्रदेश र संघीय सरकारसँग बजेट तथा योजना प्रस्ताव गरी पठाएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्