
काठमाडौं । राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।
अबुधाबीमा हिजो राति भएको खेलमा राजस्थानले मुम्बईमाथि ८ विकेटको सानदार जित निकालेको हो ।
शेख जायद क्रिकेट मैदानमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
राजस्थानको जितमा बेन स्टोक्सले अविजित रहदै १ सय ७ रनको शतकीय इनिङ्स खेले । स्टोक्सले ६० बलमा ३ छक्का र १४ चौका प्रहार गरे ।
मुम्बईको उच्च स्कोरका लागि हार्दिक पाण्डयले अविजित रहदै ६० रनको अर्धशतकीय इनिङ्स खेले । आक्रामक ब्याटिङ गरेका उनले २१ बलमा ७ छक्का र २ चौका प्रहार गरे ।
जितसँगै राजस्थानले मुम्बईसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा राजस्थानलाई मुम्बईले ५७ रनले हराएको थियो ।
मुम्बईमाथिको सानदार जितसँगै राजस्थानले १२ खेलमा १० अंक जोडेको छ । र, राजस्थान तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
मुम्बईले भने ११ खेलमा १४ अंक जोडेको छ । मुम्बई शीर्ष स्थानमा यथावत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्