१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


झापामा महामारीकै बीच विकास निर्माण धमाधम


0
Shares


झापा । लामो लकडाउनकाबीच पनि झापामा सञ्चालित विकासका आयोजनाले निरन्तरता पाएका छन् ।

कोरोना कहरकै बीच अहिले पनि झापाका १५ वटा पालिकामा सञ्चालित विकासका काम धमाधम भइरहेका छन् ।

संघ,प्रदेश र स्थानीय तह मार्फत झापामा सञ्चालित विकासका योजनाहरु लकडाउनको अवधिमा समेत सुचारु भएकाछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ दमक देखि नेपालकै होचो भू–भागका रुपमा चिनिएको कचनकवल गाउँपालिकासम्म सञ्चालित विकास निर्माणका आयोजना लकडाउनकाबीच पनि संचालनमा आएका हुन् ।

बाह्रदशी गाउँपालिकाको गौरबको आयोजनाका रुपमा रहेको ‘उज्यालो बाह्रदशी’को काम कोरोना कहरकै बीच सम्पन्न भएको छ भने अन्य ठूला विकास आयोजनाका काम धमाधम भइरहेको छन् ।

पर्यटन पूर्बाधारको विकास गर्ने उद्देश्यले वाह्रदशी गाउँपालिकामा नै १२ करोड रुपैयाँको लागतमा बाह्रदशी गाउँपालिका ६ कञ्चनगढ साधुकुट्टीमा भ्यू टावरको निर्माण कार्य अघि बढाइएको छ ।

त्यस्तै ६ करोड रुपैयाँको लागतमा वडा नम्बर ५ स्थित घाग्रा खोलामा पक्की पुल निर्माणको काम पनि भई रहेको छ ।

यता ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) अन्तरगत झापामा चारवटा सडक निर्माणाधीन छन् ।

एशियाली विकास बैंकको ६७ करोड ९३ लाख ७९ हजार रुपैयाँको ऋण सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा चारपाने–राजगढ सडक सहित अमलडाँगी–समयगढ–बाँँसबारीसोलमारी, खर्साङवारी–जलथल–मंगलवारे–बाहुनढोका–अधिकारी चौक लगायतका सडक निर्माण भएसंगै स्थानीयवासी खुशी भएकाछन् ।

यता झापा गाउँपालिकामा सहारा नेपाल र ह्याविट्याट संगको सहकार्यमा विपन्न परिवारका लागि सुरक्षित आवास कार्यक्रम अन्तरगत घर निर्माण भएका छन् भने नौ वटा सडक कालोपत्रे गर्न ११ करोड ७९ लाख ४६ हजार रुपैयाँ वजेट विनियोजन गर्दै कालोपत्रेको काम अघि बढाइएको छ ।

बिकास निर्माणले गति पाएसंगै स्थानीय तहको निर्वाचन मार्फत स्थानीय सरकारको गठन भई गाउँगाउँ र घर–घरमा सरकार पुगेको अनुभूति स्थानीय बासीन्दाले गर्न थालेकाछन् ।

स्थानीय सरकार अहिले आफ्नो क्षेत्रभित्र विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्न र चाहेजस्तो विकास गर्न लागि परेको छ ।