१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अर्बाैंको क्षति व्यहोर्दै जलविद्युत् लगानीकर्ता


0
Shares

काठमाडौं, कात्तिक १० । मुलुकको आर्थिक भविष्यसँग जोडिएको नेपालको जलविद्युत् क्षेत्र यतिबेला कोभिड-१९ का कारण थला परेको छ ।

कोभिड-१९ का कारण निर्माणाधीन जलविद्युत् आयोजना तथा निर्माण सम्पन्न भएका आयोजनाकोसमेत ट्रान्समिसन लाइन बन्न नसक्दा दुई अर्ब बढी क्षति भइसकेको छ ।

कोभिडको असर कहिलेसम्म र कति हुन्छ भन्ने अहिले नै आँकलन गर्नसक्ने अवस्था छैन ।

नेपालका धेरै जलविद्युत् आयोजनामा चिनियाँ कामदार र चिनियाँ निर्माण सामग्री प्रयोग भएका छन् । कोभिडका कारण ती सबै कुरा रोकिएका छन् ।

अहिले उत्पादित बिजुली १४ सय मेगावट बराबरका आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् भने तीन हजार मेगावाट बराबरका आयोजना निर्माणको चरणमा प्रवेश गरेका छन् । अन्य चार हजार मेगावाट भने वित्तिय स्रोतलगायत अन्य आवश्यक सामग्रीको जोहो गरी निर्माणको तयारी अवस्थामा रहेका छन् ।

६० प्रतिशत निजी क्षेत्रको लगानी रहेको जलविद्युत् क्षेत्रमा अहिलेसम्म छ खर्ब बढी लगानी भइसकेको छ ।

सरकार र निजी क्षेत्रले पाँच वर्षमा पाँच हजार, १० वर्षमा १० हजार बिजुली उत्पादनको लक्ष्य लिएका छन् । कोभिडले निर्माणाधीन आयोजनामा नराम्रो धक्का पुगेपछि यो लक्ष्य प्राप्त गर्न कठिन देखिएको छ । कोभिडले यस क्षेत्रमा नराम्रो धक्का पुगेको जलविद्युत् क्षेत्र ‘ईप्पान’का अध्यक्ष कृष्णप्रसाद आचार्य बताउनुहुन्छ ।

उत्पादन भएको सबै बिजुली मुलुकभित्र खपत हुने अवस्था छैन । यसका लागि छिमेकी मुलुकहरु भारत, चीन र बंगलादेशले खरिद गर्ने चर्चा रहेपनि आवश्यक पूर्वाधार निर्माण नै हुनसकेको छैन ।

अहिलेको अवस्थामा ७०० मेगावाट विद्युत् प्रसारणलाइनमा जोडिएपनि व्यवस्थापनमा समस्या छ ।

नेपाल जलस्रोतको धनी देश र विद्युत् उत्पादनको पर्याप्त सम्भावना भएपनि अझै विद्युत् सबै जनताको पहुँचमा पुग्न सकेको छैन । यसका लागि सरकार र निजी क्षेत्र दुवैको हातेमालोको जरुरी छ ।