
लन्डन, कात्तिक १० । बेलायती प्रहरीले दक्षिण लन्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लंघन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।
प्रहरीले विवाहमा सहभागी करिब २०० पाहुनालाई नियम उल्लंघन गरी विवाहमा संलग्न भएको भन्दै घर फिर्ता गरिदिएको लन्डनबाट प्रकाशित ‘इभिनिङ स्ट्यान्डर्ड’ दैनिक पत्रिकाले आइतबार उल्लेख गरेको छ ।
विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी डलर जरिवानासम्म तिर्नेगरी धरौटीमा रिहा गरेको छ ।
प्रहरीले आफूहरूलाई स्थानीय बासिन्दाले विवाहमा कोभिड–१९ नियन्त्रणका लागि तय गरेको नियम उल्लंघन गरेको भनी सूचना गरेपछि छापा मारेको थियो ।
विवाहमा दुलही र एक अन्य व्यक्तिलाई कोरोनाभाइरस नियन्त्रण कानुनअनुसार जरिवाना हुनसक्ने बताइएको छ ।
पत्रिकाले जासुस प्रहरी सुपरिन्टेन्डेन्ट निक्की आरोस्मिथलाई उद्धृत गरी भनेको छ-‘यो घटना कोभिड–१९ कानुनको जानाजानी उल्लंघन भएको र यसका कारण संक्रमणको फैलिने सम्भावना थप हुने भएकोले उनलाई जरिवाना गर्न सिफारिस गरिएको छ ।’
विवाहमा २०० भन्दा बढी मानिस सहभागी भएका कारण यसले सामाजिक दूरी कायम नगरेको देखिएकोले जरिवानाका लागि सिफारिस गरिएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्