१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खोटाङमा नास्पातीबाट जुस र पेरी उत्पादन सुरु


0
Shares

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नास्पातीबाट जुस र पेरी उत्पादन सुरु गरिएको छ ।

उत्पादन राम्रो भएपनि बजार अभावमा खेर गइरहेको नास्पातीलाई प्रशोधन गरी आम्दानीको स्रोत जुटाउन जनसेवा कृषि सहकारी संस्थाले जुस तथा पेरी उत्पादनको तयारी सुरु गरेको हो ।

सडेर गइरहेका नास्पातीको सदुपयोग गर्दै प्रतिकेजी चार रुपैयाँका दरले खरिद गरेर खोटाङको जालपामा नास्पातीको जुस र पेरी उत्पादन सुरु गरिएको छ ।

जुस र पेरी उत्पादनमा आवश्यक पर्ने मेसिन खरिद र उत्पादन तालिमको सहजिकरण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाले गरेको छ ।

वडा कार्यालयवाट बजेट विनियोजन गरि मेसिन र औजार खरिद गरेर आवश्यक दक्ष जनशक्ति तयार गरिएको जालपाका वडाध्यक्ष विकास राईको भनाइ छ ।

जालपामा मात्र वार्षिक १० हजार केजीको हाराहारीमा उत्पादन हुने नास्पातीलाई प्रशोधन गर्दै जुस र पेरी उत्पादन गरिएको छ ।

जुस र पेरी उत्पादनका लागि नास्पाती खरिद सुरु भएपछि स्थानीय कृषक खुसी भएको जनसेवा कृषि सहकारी संस्थाले जनाएको छ ।

जुस र पेरीको लेबलिङ र बोटलिङको काम गर्ने तयारी गरिएको जालपामा नास्पाती जस्तै सुन्तला, आल्चा, आँपलगायतका मौसमी फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्यसमेत राखिएको छ ।

जालपामा जुस र पेरी उत्पादन हुन थालेपछि प्रत्यक्ष रुपमा सात जनाले रोजगारी पाएका छन् । यता गाउँमै रोजगारी पाउँदा स्थानीय सरकारको प्रत्याभूति भएको कामदारको भनाइ छ ।

जापानीज, लोकललगायतका जातका नास्पाती प्रसस्त मात्रामा उत्पादन भए पनि बजार अभावमा कुहिएर बगानमै नस्ट हुने गरेको छ ।