
झापा । मेची नदीमा एशियाली विकास बैंकको एक अर्ब तीन करोड ७८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण भएसंगै झापाको काँकरभिट्टासम्म ‘एप्रोच रोड’ निर्माण भएको छ ।
मेची नदीमा ६ लेनको पुल र सडक निर्माण भएसंगै ‘ए क्लास’ को एसियाली राजमार्गसँग नेपालको पहुँच जोडिएको हो ।
भारतले पश्चिम बंगाल हुँदै काँकरभिट्टासम्म एशियन हाइवे बिस्तार गरेसंगै नेपालको सडक संजाल एशियन हाइवेसंग जोडिएको हो ।
व्यापार सहजीकरण, सहज आवागमन, सीमा नाकाको पूर्बाधार ब्यवस्थापन तथा सुधारका लागि एशियाली विकास बैंकको लगानीमा सडक मार्गको पहुँच विस्तार भएको हो ।
नेपाल–भारत सीमा छुट्याउने मेची नदीमा ७ सय ९० मिटर लामो पुलसंगै नेपालतर्फ डेढ किलोमिटर ‘एसियन हाइवे एप्रोच रोड’ निर्माण समेत गरिएको हो ।
मेची नदीमा ६ लेनको पुल र ६ लेनकै सडक निर्माण भएपछि भारत लगायत तेस्रो मुलुकसंग स्थल मार्ग हुँदै गरिने व्यापारका लागि सहज हुने देखिएपनि एसियन हाइवे निर्माणसंगै समस्या थपिएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।
भन्सार महसुल संकलन गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालको कुनै पनि क्षेत्रलाई भन्सार क्षेत्रको रुपमा तोक्न सक्ने व्यस्था गरेको छ ।
सोही व्यवस्था अनुसार मेची भन्सार कार्यालयको भन्सार परिसरमा बेरियर हुनुपर्ने भएपनि एशियन हाइवे निर्माणका क्रममा त्यस सम्वन्धि चासो नदिँदा सडक क्षेत्र भन्सारको नियन्त्रण भन्दा बाहिर गएको छ ।
भन्सार कार्यालय पूर्व ठूलो मानव बस्ती रहेकाले अबैध रुपमा चोरी पैठारी, अबैध हात हतियार भित्रन सक्ने आकंलन प्रमुख भन्सार अधिकृत विश्वकर्माको छ ।
एशियन हाइवे विस्तार भएसंगै पूर्बी नाका काँकरभिट्टाको स्वरुप फेरिएसंगै भारतसहित छिमेकी मुलुक भुटान र वंगलादेशसंगको व्यापारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
२०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले मेची नदीमा पुल निर्माणको सम्झौता गर्नुभएको थियो ।
सम्झौतासंगै २०७४ फागुनबाट मेची नदीमा पुल निर्माणको काम अघि बढेको थियो ।
एशियन हाइवेको रुढ थाइल्याण्डको बैंङ्ककबाट शुरु भई म्यानमार, वंगलादेश, भारत हुँदै नेपालको काँकरभिट्टाबाट पूर्ब पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्छ ।
प्रतिक्रिया दिनुहोस्