१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


विवादास्पद अभिव्यक्ति दिने भारतीय सेनाध्यक्षको भ्रमणप्रति चासो


0
Shares

काठमाडौं, कात्तिक ११ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको मिति तय भएको छ । सेनाध्यक्ष नरवणेले यही कात्तिक १९ देखि २१ गतेसम्म तीनदिने नेपाल भ्रमण गर्दै हुनुहुन्छ ।

भ्रमणका क्रममा भारतीय सेनाध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्नुहुनेछ ।

सीमा विवादले दुई मुलुकबीचको सम्बन्ध तिक्ततापूर्ण बनेको अवस्थामा भारतीय सेनाध्यक्षको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

हुन त नेपाल र भारतका सेनाध्यक्षले एकार्का देशको महारथी ग्रहण गर्ने परम्परा सन् १९५० देखि चल्दै आएको छ । यसैलेपनि दुई मुलुकका सेनाध्यक्षको एकार्का देशको भ्रमण स्वाभाविकरुपमा लिइन्छ ।

तर, भारतीय सेनाध्यक्षको अहिले हुन लागेको नेपाल भ्रमण भने सामान्य अवस्थाको जस्तो छैन ।

दुई देशबीच सीमा विवाद चुलिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई लिएर दुई देशबीच चिसिएको सम्बन्धको समयमा भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण हुन गइरहेको हो ।

भारतीय अधिकारीहरुले पनि नरवणेको नेपाल भ्रमणको क्रममा दुई देशबीचको सीमा विवाद र सुरक्षा चुनौतीका विषय मुख्य एजेन्डा भएको बताएका छन् । यसलेपनि भारतीय सेनाध्यक्षको भ्रमणप्रति थप चासो बढेको छ ।

सीमा विवादकै कारण दुई देशबीचका उच्च राजनीतिक नेतृत्वमा संवाद हुन नसकिरहेको अवस्थामा भारतबाट सेनापति तहमा हुन लागेको उच्चस्तरीय भ्रमणले संवाद र वार्ताको ढोका खोल्न सक्ने बताउनुहुन्छ, परराष्ट्रविद् प्रा. डा. लोकराज बराल ।

नेपाल र भारतका सेनाबीचको घनिष्ट सम्बन्धकै कारण २०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दी हटाउन नेपाली सेनाले विशेष भूमिका खेल्न सफल भएको विश्लेषण गरिँदै आएको छ ।

तर, परराष्ट्रविद् डा. बराल नाकाबन्दी र सीमा विवाद फरक विषय भएको जिकिर गर्नुहुन्छ ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच चर्किएको सीमा विवादकै समयमा नरवणेले चीनको इसारामा नेपालले सिमानाको मुद्दा उचालेको विवादास्पद अभिव्यक्ति दिएपछि चर्को विरोध भएको थियो ।

तर, पछिल्लो समय भारतले पनि नेपालसँगको विवाद थप चर्काउन नचाहेर सामान्य बनाउन खोजेको देखिएकाले नरवणेको भ्रमण महत्वपूर्ण कूटनीतिक सुरुआत हुने अपेक्षा गरिएको छ ।

नरवणेको भ्रमणको क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापालगायत शीर्ष शैन्य अधिकारीहरुसँग सीमा विवादलगायत महत्वपूर्ण मुद्दाहरुमा विस्तृत वार्ता हुने बताइएको छ ।

यसअघि, भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण गत वर्षको माघ २० गतेका लागि तय भएपनि कोरोना महामारी देखाएर स्थगित गरिएको थियो ।