२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कोरोनाका कारण काठमाडौंमा मात्रै २०० जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक ११ । नेपालमा कोरोनाभाइरसको सबैभन्दा बढी संक्रमण काठमाडौंमा देखिएको छ । मृत्यु हुनेको संख्या पनि काठमाडौंमा उच्च छ ।

काठमाडौंमा कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार २०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण १४ जनाले ज्यान गुमाए । त्यसमध्ये दुईजना काठमाडौंका थिए ।

कोरोनाका कारण अहिलेसम्म भक्तपुरमा ५८ जनाको मृत्यु भइसकेको छ । ललितपुरमा ५६ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घन्टामा भक्तपुर र ललितपुरमा संक्रमणका कारण एक/एकजनाको मृत्यु पुष्टि भएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८७६ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण हालसम्म सबैभन्दा बढी वाग्मती प्रदेशमा ४१८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा चारसहित वाग्मतीमा छजनाले ज्यान गुमाए ।

कोरोनाका कारण प्रदेश नम्बर-२ मा १५० जनाले ज्यान गुमाइसके । प्रदेश-२ मा पछिल्लो २४ घन्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन ।

लुम्बिनी प्रदेशमा कोरोनाका कारण १२३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा यहाँ चारजनाले ज्यान गुमाए ।

प्रदेश नम्बर-१ मा कोरोनाका कारण हालसम्म ११४ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घन्टामा यहाँ एकजनाको मृत्यु पुष्टि भयो ।

गण्डकी प्रदेशमा कोरोनाका कारण हालसम्म ४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा यहाँ तीनजनाले ज्यान गुमाए ।

कोरोनाका कारण सुदूरपश्चिम प्रदेशमा १७ र कर्णाली प्रदेशमा १० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा सुदूरपश्चिम र कर्णालीमा कसैको पनि मृत्यु पुष्टि नभएको मन्त्रालयको विवरणमा देखिन्छ ।

नेपालमा कोरोनाका कारण जम्मा मृत्यु संख्यामा एक चिनियाँ नागरिकको मृत्यु पनि समावेश गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल काठमाडौंमा सक्रिय संक्रमितको संख्या १६,९५८ रहेको छ । भक्तपुरमा १,१९४ जना सक्रिय संक्रमित छन् । ललितपुरमा सक्रिय संक्रमितको संख्या २,४३४ रहेको मन्त्रालयले जनाएको छ ।