१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘इपीएस’मार्फत् कोरिया गएका राईको दशैं टीकाको दिन दुर्घटनामा परी मृत्यु


0
Shares

सउल, कात्तिक १२ । परदेशमा दशैं नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए ।

उनी ‘इपीएस’ प्रक्रियामार्फत् कोरिया आइ करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत् थिए ।

उनको टीकाकै दिन कम्पनीमा काम गर्नेक्रममा दुर्घटनामा परी मृत्यु भएको हो ।

उनका सहकर्मी तिलक पुनकाअनुसार सोमबार बिहान १० बजेतिर कम्पनीमा काम गर्नेक्रममा कोरियाली कामदारले चलाएको छिगेछा (सामान बोक्ने गाडी)ले च्यापेर उनको मृत्यु भएको हो ।

मृतक राई ख्यङ्सान नाम्दो, हाप्छनगुन भन्ने ठाउँमा काम गर्थे ।

छिगेछाले च्यापेपछि उनलाई उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको भएपनि अस्पतालले मृत घोषणा गरेको थियो ।

उनको शवलाई हाल नजिकैको अस्पतालमा राखिएको छ । घटनाबारे सउलस्थित नेपाली दूतावासले अनौपचारिक जानकारीमात्र प्राप्त भएको र आवश्यक प्रक्रिया पूरा गर्ने जानकारी दिएको छ ।