
लन्डन, कात्तिक १२ । बेलायतमा कोरोनाभाइरसका कारण मेपछि मंगलबार एकैदिनमा सबैभन्दा धेरैको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार एकैदिनमा ३६७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ४५ हजार ३६५ पुगेको छ ।
बेलायतमा थप २२ हजार ८८५ जना कोरोनाभाइरसबाट संक्रमित भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार बेलायतमा अहिलेसम्म कुल नौ लाख १७ हजार ५७५ जना संक्रमित भएका छन् ।
बेलायतका पब्लिक हेल्थ मेडिकल डाइरेक्टर डा. यभोन्ने डोयलेले संक्रमण र यसबाट हुने क्षति बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ-‘निरन्तर उस्तै छ ।’
उहाँले अहिलेसम्मको प्रवृत्ति हेर्दा मृत्यु हुनेको संख्या बढ्दै गएको र अझै बढ्नसक्ने अनुमानसमेत गर्नुभएको छ ।
‘हामीले हरेक दिन धेरै मानिसको परीक्षण गरिरहेका छौं । अस्पताल प्रशासनले उनीहरुको संख्या बढिरहेको बताउने गरेका छन् । यसबारेमा अझ गम्भीर हुन जरुरी छ । अझ धेरै सूचित हुन आवश्यक छ’-उहाँले भन्नुभयो ।
बेलायती राष्ट्रिय तथ्यांक कार्यालयले यसअघि सार्वजनिक गरेको विवरणमा मृतक र संक्रमितहरुको हप्ताभरिको संख्यामा पनि वृद्धि भएको देखिएको छ ।
बीचमा केही समय घटेको देखिएपनि अहिले फेरि बढ्दै जानु थप चिन्ताको विषय भएको अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्