
नयाँदिल्ली, कात्तिक १२ । भारतमा विगत २४ घन्टामा कोरोनाभाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् । योसहित भारतमा कुल संक्रमितको संख्या ७९ लाख ९० हजार पुगेको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार भारतमा हाल छ लाख १० हजार ८०३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।
विगत २४ घन्टामा ५०८ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । भारतमा कोभिड–१९ को संक्रमणबाट कुल मृत्यु भएका व्यक्तिको संख्या एक लाख २० हजार १० जना पुगेको छ ।
मन्त्रालयले भारतमा कुल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ ।
साथै, कोरोना संक्रमितको मृत्यु हुने औसत दरसमेत विश्वका अन्य मुलुककोभन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, विश्वमा प्रति १० लाख जनसंख्यामा औसतमा १४३ जनाको मृत्यु भइरहेकामा भारतमा ८४, रसियामा १६९, फ्रान्समा ५११, बेलायतमा ६४४ र संयुक्तराज्य अमेरिकामा ६६० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
भारतीय महाराष्ट्र राज्य कोरोना संक्रमणको सबैभन्दा उच्च जोखिममा रहेको छ । यहाँ अझैपनि एक लाख ३२ हजार व्यक्ति सक्रिय संंक्रमित रहेका छन् । यहाँ ४३ हजार ४६३ जनाको मृत्यु भइसकेको छ भने १४ लाख ७८ हजार व्यक्ति निको भएका छन् ।
कर्नाटक राज्यमा ७१ हजार सक्रिय संक्रमित रहेकामा सात लाख २७ हजार निको भएका छन् भने १० हजार ९९१ जनाको मृत्यु भएको छ ।
पश्चिम बंगलामा ३७ हजार १७२ जना सक्रिय संक्रमित रहेका छन् । तमिल नाडूमा २७ हजार ७३४ जना सक्रिय संक्रमित र राष्ट्रिय राजधानी दिल्लीमा २७ हजार ८७३ जना सक्रिय संक्रमित रहेका जनाइएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले हालसम्म १० करोड ५४ लाख ८७ हजारको नमुना परीक्षण गरेको जनाएको छ ।
मंगलबार अर्थात् अक्टोबर २७ का एकैदिनमा १० लाख ६६ हजार ७९६ जनाको नमुना परीक्षण गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्