१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जसपाले तोक्यो लेबी


0
Shares

काठमाडौं, कात्तिक १२ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीमा आवद्ध सबै सक्रिय कार्यकर्ताको मासिक लेबी तोकेको छ ।

यस्तै, पार्टीको तर्फबाट विभिन्न लाभको पदमा नियुक्त व्यक्तिहरुको पनि मासिक लेबी तोकिएको छ ।

केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकको निर्णयअनुसार जसपाले पार्टीका संघीय सांसदहरुलाई मासिक जनही १५ हजार रुपैयाँ लेबी तोकेको छ ।

यस्तै, केन्द्रीय कार्यकारी समितिका सदस्यहरुले मासिक एक हजार, राजनीतिक समितिका सदस्यहरुले ७००, केन्द्रीय सदस्यहरुले ५००, संघीय परिषद् सदस्यहरुले ३०० र राष्ट्रिय समितिका सदस्यहरुलाई २५० रुपैयाँ मासिक लेबी तोकिएको छ ।

प्रदेश र स्थानीय तहहरुमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले तोकिएबमोजिम लेबी बुझाउनुपर्ने जनाइएको छ ।

लेबीबाट संकलित रकमको ३० प्रतिशत पार्टीको केन्द्रीय समिति, ३० प्रतिशत प्रदेश समिति र ४० प्रतिशत स्थानीय तहका समितिले पाउने व्यवस्था गरिएको छ ।

जसपाको पार्टी विधानमा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय, केन्द्रीय कार्यसमिति ८०१ सदस्यीय, संघीय परिषद् १,१०१ सदस्यीय र राजनीतिक समितिमा १५१ जना रहने व्यवस्था छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी जसपाका ३७ जना सांसद छन् ।

तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकीकरण भएर गएको वैशाख दोस्रो साता जनता समाजवादी पार्टी बनेको थियो । जनता समाजवादी पार्टीलाई असारको अन्तिम साता निर्वाचन आयोगले राजनीतिक दलको मान्यता दिएको थियो ।