
काठमाडौं, कात्तिक १२ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा सवारीचालक तथा सहचालक आफैं कारबाहीमा परेका छन् ।
दशैंका अवधिमा सवारी नियम उल्लंघनविरुद्ध चलाइएको कारबाही अभियानका क्रममा नियम उल्लंघन गर्ने उनीहरुले प्रहरीलाई नै आर्थिक लोभ देखाएपछि कारबाही गरिएको छ ।
यसरी कारबाहीमा पर्नेमा आठ सवारीचालक तथा सहचालक रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कारबाहीमा पर्नेमा रामप्रसाद चौधरी, दीपकबहादुर कुमाल, अभिनन्दन काफ्ले, विक्रम तामाङ, प्रेमबहादुर तामाङ, खड्गबहादुर सुनुवार, अभिक आचार्य र अविन शाही छन् ।
उनीहरुले सवारी नियम उल्लंघन गरेपछि कारबाही गर्न खोज्ने ट्राफिक प्रहरीलाई रु ५०० देखि तीन हजारसम्म दिन खोजेका थिए ।
महाशाखाले कुनै प्रलोभनमा नपरी आर्थिक लाभ इन्कार गरेर संलग्नलाई नियमानुसार कारबाहीको दायरामा ल्याउने ती ट्राफिक प्रहरीलाई पुरस्कृतसमेत गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
उहाँकाअनुसार संगठनको छविलाई उच्च पारी आफूलाई दिइएको जिम्मेवारी इमान्दारीसाथ निर्वाह गर्ने ट्राफिक प्रहरीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने गरिएको छ । यसअघि पनि प्रलोभनमा नपर्ने ७३ ट्राफिक प्रहरीलाई पुरस्कृत गरिसकिएको छ ।
महाशाखाले कुनै प्रहरीले लापरबाही गरेको वा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको ट्राफिक प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचित गरिदिन पनि बुधबार सूचनामार्फत् अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्