
काठमाडौं । मोबाइल ब्राण्डहरु मध्ये नेपालमा कुनैसमय एकक्षत्र राज गरेको दक्षिण कोरियाली ब्राण्ड सामसङको हिस्सा १० प्रतिशतमा खुम्चिएको छ । त्यसैगरि अर्को ठूलो स्मार्टफोन ब्राण्ड शाओमीको हिस्सा भने दोहोरो अंकमा समेत पुग्न सकेको छैन् ।
नेपाली बजारमा प्रमुख हिस्सा सस्ता र नामै नसुनेका कम्पनीहरुले लिएको देखिएको छ भने अर्कोतर्फ चर्चित ब्राण्डहरुको हिस्सा निकै कमजोर र नगन्य मात्र रहेको छ ।
नेपालमा आयात हुने मोबाइल फोनहरुको दर्ताको आधारमा हेर्दा नेपालमा सबैभन्दा धेरै लाभा मोबाइलको आयात हुने गरेको देखिन्छ। सो मोबाइल ब्राण्डको हिस्सा १५ प्रतिशत रहेको छ ।
त्यसपछि भने अर्को हंगकंगमा आधारित चिनियाँ ब्राण्ड आईटेलले लिएको छ जसको हिस्सा १३ प्रतिशत छ भने सामसंग १० प्रतिशतको हिस्सामा खुम्चिएर तेस्रो स्थानमा रहेको छ ।
नेपाली मोबाइल फोन ब्राण्ड कलर्स भने प्रमुख पाँच भित्र समावेश हुँदै चौथो नम्बरमा रहेको छ जसले ९ प्रतिशत हिस्सा लिएको देखिन्छ । चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमी ८ प्रतिशत हिस्सा लिँदै पाँचौं स्थानमा रहेको देखिन्छ ।
त्यसैगरि नोकिया ७ प्रतिशतसहित छैटौं स्थानमा, किवी मोबाइल ५ प्रतिशत सहित सातौं स्थानमा छ भने अर्को भारतीय ब्राण्ड ट्याम्बो ५ प्रतिशत हिस्सा सहित आठौं स्थानमा छ ।
चिनियाँ ब्राण्ड भिभो भने ३ प्रतिशत हिस्सासहित नवौं स्थानमा छ भने निकै कम मात्र नाम सुनिएको मोबाइल ब्राण्ड रियोटले ३ प्रतिशत हिस्सा लिएको छ।
यो तथ्यांक नेपालमा आयात हुने मोबाइल फोनहरुको ब्राण्डको आधारमा राखिएको इक्वूपमेन्ट आईडेन्टिटी रजिस्ट्रर अर्थात उपकरण पहिचान दर्ताको आधारमा लिएको हो ।
नेपाल भित्र आयात हुने मोबाइल फोनहरुको लागि सबैभन्दा पहिले नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति लिनुपर्ने हुन्छ भने आयात भएका सम्पूर्ण मोबाइल फोनहरुको दर्ता र आईएमईआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ ।
प्राधिकरणले केहि समयअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री समक्ष बुझाएको वार्षिक प्रतिवेदन २०७६/७७ मा इक्वूपमेन्ट आईडेन्टिटी रजिस्ट्ररको आधारमा सो तथ्यांक उल्लेख गरिएको छ ।
सो तथ्यांकमा अर्को चर्चित चिनियाँ स्मार्टफोन ब्राण्ड ओपोको नामै उल्लेख छैन अर्थात सो ब्राण्डको हिस्सा नेपाली बजारमा अत्यन्त न्यून रहेको अनुमान गर्न सकिन्छ।

तथ्यांकअनुसार अन्य विभिन्न ब्राण्डका फोनहरुको हिस्सा समग्रमा २२ प्रतिशत रहेको देखिन्छ ।
नेपालमा आधिकारीकरुपमा आयात हुने मोबाइल फोनहरुको सम्पूर्ण दर्ता प्राधिकरणमा नै रहने हुँदा सोहि आधारमा कम्पनीहरुले आयात तथा बिक्री गर्ने गर्दछन् ।
अझ आयात भएकामध्ये कतिपय फोनहरु बजारमा बिक्री नभई स्टकमा रहने गर्दछन् । त्यसैले प्राधिकरणले दिएको आयातको तथ्यांकभन्दा निकै कम बजार हिस्सा हुने संभावना रहन्छ ।
अधिकांश कम्पनीहरुले आफ्नो बजार हिस्सा अत्यधिक भएको दाबी गर्ने गर्दछन तर फोन आयात भएको संख्या भन्दा बिक्री संख्या अधिक हुँदैन् ।
तर नेपाल जस्तो खुला सिमानाका भएको देशमा अझैपनि अवैध र चोरीका फोनहरु आउने हुँदा त्यसले भने केहि बजार हिस्सा बढाउन सहयोग गर्ने संभावना रहन्छ । तर त्यो निकै न्यून हुने गरेको देखिन्छ ।
नेपालमा ४ दर्जन भन्दा बढि मोबाइल ब्राण्डका फोनहरु औपचारिकरुपमा आयात र बिक्री हुने गरेका छन् ।technologykhabar.com
प्रतिक्रिया दिनुहोस्