२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मस्जिद पुनःनिर्माणमा वडाध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित


0
Shares

काठमाडौं, कात्तिक १३ । गएको शनिबार तोडफोड गरिएको मस्जिद पुनःनिर्माणमा वडाध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका छन् ।

शनिबार बिहान डोजर लगाएर केही व्यक्तिहरुले सुन्धारामा रहेको मुसाफिर मदिनी मस्जिदमा तोडफोड गरेका थिए ।

पुनःनिर्माणको काम भइरहेको ठाउँमा वडाध्यक्षसहितको टोलीले अवरोध गरेपछि बिहीबार मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीसमेत घटनास्थल पुग्नुभएको थियो ।

अध्यक्ष अन्सारीले जनताको प्रतिनिधिले जनताको पक्षमा काम गर्नुपर्ने भएपनि भूमाफियाको पक्षमा काम गरिरहेको आरोप लगाउनुभयो ।

भत्केको ठाउँमा पुनःनिर्माण भइरहेको पाँचौं दिनमा अवरोधको प्रयास गरी सामाजिक सद्भाव खलबलाउने प्रयास भएको पनि उहाँले बताउनुभयो ।

कानुनी हिसाबले नसकेपछि गुन्डागर्दी शैलीमा मस्जिद भत्काउने काम भएको अध्यक्ष अन्सारीको भनाइ छ ।

स्थानीय लक्ष्मी परियारले भत्केको ठाउँमा पुनःनिर्माण गर्नुपर्ने ठाउँमा वडाध्यक्षले निर्माणमा अवरोध गरिरहेको आरोप लगाउनुभयो ।

वडाध्यक्षले निर्माणको काम नरोके आफैं भत्काउने धम्की दिएकोसमेत उहाँले बताउनुभयो ।

निर्माणाधीन धरहराको ठिक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको सो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायीरुपमा संरचना बनाइ प्रयोग गरिरहेका छन् ।

आजभन्दा १०० वर्षअघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढ्ने स्थानको रुपमा स्थापित भएको सो मस्जिदमा अहिले पाँच प्रहरको नमाज पढ्न मस्लिम समुदाय पुग्ने गरेका छन् ।