१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दशैंपछि थप जोखिम, समुदायस्तरमा ‘पीसीआर’ परीक्षणलाई व्यापक बनाउन सुझाव


0
Shares

काठमाडौं, कात्तिक १३ । दशैंपछाडि फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रमण झनै बढ्ने आँकलन भइराखेको छ ।

यसलाई ध्यान दिँदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयू)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

तर, जनस्वास्थ्यविद्हरुले भने उपचारको तयारीसँगसँगै समुदायस्तरमा ‘पीसीआर’ परीक्षणलाई व्यापक बनाउनुपर्ने बताएका छन् ।

दशैं सकिएसँगै यतिबेला देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यका आउनेहरुको भिड बढेको छ । उपत्यका त्यसैपनि कोभिड-१९ संक्रमणको उच्च दर रहेको ठाउँ हो ।

विभिन्न ठाउँबाट आउनेहरुको संख्या बढेसँगै स्वाभाविकरुपमा संक्रमण बढ्ने उच्च जोखिम पनि रहन्छ । सार्वजनिक यातायातमार्फत् उपत्यका भित्रिनेहरुमा अझ बढी संक्रमण हुनसक्ने सम्भावना पनि छ ।

यस्तै, सार्वजनिक यातायातमा तथा यात्रा गरिरहेका यात्रुहरुले स्वास्थ्यसम्बन्धी मापदन्ड पालना नगर्दा पनि संक्रमणको जोखिम बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्ने जोखिमको आँकलन गरेर सरकारले पूर्वतयारी गरिसकेको बताउनुभयो ।

हाइ डिपेन्डेन्सी युनिट र आइसोलेसन वार्डको तयारी गरिसकेको उहाँले बताउनुभयो ।

‘संक्रमणको जोखिम कम गर्ने पहिलो दायित्व व्यक्ति स्वयंको भएकोले सरकारले कारबाही गर्छु भन्दै डर देखाएर जोखिम कम गर्न सक्दैन । यसैले व्यक्ति स्वयंले पनि काठमाडौं फर्किसके पछाडि कम्तीमा एक हप्ता ‘क्वारेन्टिन’मा बस्न सरकारले अनुरोध गरेको’ पनि प्रवक्ता गौतमले बताउनुभयो ।

जनस्वास्थ्यविद् डा. समिरमणि दीक्षितले भने दशैंमा घरबाट फर्किएर काठमाडौं आउनेहरुबाट संक्रमण फैलनेभन्दा उपत्यकाभित्र रहेकाबाट नै संक्रमण फैलने सम्भावना बढी रहेको बताउनुभयो ।

गाउँभन्दा काठमाडौं उपत्यकामा नै संक्रमण उच्च भएकोले बाहिरबाट आउनेहरु नै जोगिनुपर्ने उहाँले बताउनुभयो ।

काठमाडौंमा संक्रमणमा नपर्नका लागि नियमितरुपमा मास्क लगाउने, दुरी कायम गर्ने र भिडभाडमा नजाने गर्नुपर्ने हुन्छ ।

जाडो मौसममा घरभित्र खुला वातावरण नहुने भएकाले पनि धेरै सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ ।

जोखिम समूहमा पर्ने व्यक्तिहरुलाई जोगाउनका लागि घरभित्रै पनि अनिवार्य मास्क लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

आफूबाहेक ‘अरु सबै संक्रमित छन्’ भन्ने सोच बनाइ सावधानी अपनाउन डा. दीक्षितको आग्रह छ । यस्तै, राज्यले पीसीआर परीक्षणलाई अझ व्यापक बनाउनुपर्ने उहाँले बताउनुभयो ।

जाडो मौसम रुघाखोकी लाग्ने समय भएकाले पनि मौसमी रुघाखोकी हो वा कोरोना हो छुट्ट्याउन समुदायस्तरमा नै निःशुल्क परीक्षण गर्ने व्यवस्था राज्यले गर्नुपर्ने उहाँको भनाइ छ ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन विभिन्न माध्यमबाट नागरिकलाई सचेत गराएपनि नागरिक स्वयंले यसको कठोर पालना नगर्दा संक्रमणको दर बढिरहेको छ ।

युरोपेली मुलुकहरुमा संक्रमण दोहोरिएर भइरहेको घटनालाई पनि सरकार र नागरिक दुवैले हेरेर सतर्कता अपनाउनुको विकल्प छैन ।