
पाँचथर, कात्तिक १४ । पाँचथरको फिदिमलाई नयाँ नमुना सहर बनाउने कामले गति लिन सकेको छैन ।
आगामी २०८० सालभित्र एक लाख जनसंख्यालाई आवश्यक पर्ने सहरी पूर्वाधार बनाउने लक्ष्य भएपनि बजेट अभावलगायतका विविध कारणले गति लिन नसकेको हो ।
अहिलेसम्म पनि फिदिमको नमुना सहरमा ११ साइजको खेलमैदान बन्न सकेको छैन । गणेशमानपार्कको लक्ष्यअनुरुप जति काम हुनुपर्ने त्यति काम हुन सकेको छैन ।
त्यस्तै, ल्यान्डफिल्ड साइडले पूर्णता पाउन सकेको छैन भने सभाहलको निम्ति जग्गाप्राप्ति हुन सकेको छैन र दुईपटकसम्म उद्घाटन भएको बसपार्क अहिलेसम्म पनि प्रभावकारी ढंगबाट सञ्चालन हुन नसक्दा फिदिमबासी निराश भएका छन् ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा राज्यको लगानीसँगसँगै निजी क्षेत्रबाट लगानी भइदिए नमुना सहर बन्न थप सहयोग पुग्ने नयाँ सहर आयोजना कार्यालयका कार्यालय प्रमुख विश्वराम प्रजापति बताउनुहुन्छ ।
नमुना सहर फिदिममा एक लाख जनसंख्याको बस्ती बसाल्ने अवधारणअनुरुप जुन गतिमा काम हुनुपर्ने त्यो हुन सकेको देखिँदैन ।
बाध्यात्मक परिस्थितिले आएकाबाहेक आकर्षित गरेर फिदिममा रहन सकिन्छ भन्नेखालका पूर्वाधार निर्माणमा नयाँ सहर कार्यालयले काम गर्न नसकेको उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दीपक नेपाल बताउनुहुन्छ ।
विविध कारणले गर्दा कार्यालयमा आएको बजेटसमेत खर्च हुन सकेको छैन ।
फिदिम बजारको मुख्य राजमार्गमा रहेका घरटहरा हटाउन नसकिएको र बजारभित्रका शाखा सडकहरु भत्किएर दुर्घटनाको जोखिम बढ्दासमेत सडक निर्माणको काम थालनी हुन सकेको छैन ।
ठूला कार्यक्रम गर्न २०० मानिस अट्ने सिटी हल बन्न नसकेको र रंगशाला निर्माणको कामले गति लिन नसकेको हुँदा सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने तथा जिल्लाबासी एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष नेपालको भनाइ छ ।
बजार आसपासमा माकुराको जालोजस्तै बत्ती, टीभीको केबल, इन्टरनेट, टेलिफोनको तार, बिनाअनुमति टाँगिएको होर्डिङ बोर्डले फिदिम सहरलाई कुरुप बनाएको छ ।
जुन उद्देश्यका साथ कार्यालय स्थापना भएको थियो, त्योअनुरुप काम हुनुपर्ने र सरकारले नै काम गर्नका लागि विश्वसनीय वातावरण बनाउनुपर्ने स्थानीय भवानी खतिवडा बताउनुहुन्छ ।
संघीय सरकार मातहत रहेको नयाँ सहर आयोजना कार्यालयमा लक्ष्यअनुरुपको योजनाको काम गर्न पर्याप्त बजेट आउने र स्थानीयस्तरमा सरोकारवालाहरुबीच व्यापक छलफल र अन्तरक्रिया गरी योजना कार्यान्वयनमा एकमत हुने हो भने नमुना सहरको कामले गति लिनेमा दुई मत छैन ।
प्रतिक्रिया दिनुहोस्