
वासिङ्टन, कात्तिक १४ । फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घन्टासम्म ‘लाइभ’ गर्न मिल्ने भएको छ ।
यसअघि, एक घन्टामात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घन्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ ।
थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरुले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने भएका छन् ।
नयाँ व्यवस्थाले विशेष गरेर योगा र गीत–संगीत आदिको भिडियो लाइभ गर्न चाहने, कलाकार, पकाउने कार्यमा संलग्नहरुलगायतलाई फाइदा हुने अपेक्षा गरिएको छ ।
त्यसबाहेक लामो भिडियो बनाउन मिल्ने कार्यमा लागेकाहरु वा त्यस्तो प्रसारण गर्न चाहनेहरुलाई उपयोगी हुने कम्पनीका अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।
‘तपाइँको भिडियो आर्काइभमा राख्न सकिन्छ । त्यो ३० दिनसम्ममात्रै रहन्छ । आर्काइभमा भएको बेलामा तपाइँलेमात्रै हेर्न सक्नुहुन्छ’-इन्स्टाग्रामद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
आर्काइभमा भएको भिडियोलाई डाउनलोड गरेर आफ्नो ‘डिभाइस’मा राख्न पनि मिल्ने व्यवस्था गरिएको छ ।
इन्स्टाग्रामले यो विषेशता अहिले नै लागू भइनसकेको र चाँडै नै लागू हुने पनि जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्