८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपालका पाँच फुटबल खेलाडीमा कोरोना


0
Shares

काठमाडौं, कात्तिक १४ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडीमध्ये पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो ।

तर, ती खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रशिक्षणको पहिलो दिन चारजना खेलाडीमा कोरोना देखिएकोमा फेरि शुक्रबार थप एकजना खेलाडीमा कोरोना ‘पोजिटिभ’ देखिएको टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायले जानकारी दिनुभयो ।

अहिले पाँचैजना ‘आइसोलेसन’मा रहेका छन् ।

मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले टोलीलाई अभ्यास गराइरहेका छन् ।

गत चैतमा सरकारले ‘लकडाउन’को घोषणा गरेसँग खेलकुद क्षेत्र ठप्प भएका थियो । जसमा फुटबल पनि परेको थियो ।

दक्षिण एसियाली मुलुक बंगलादेशले दुई मैत्रीपूर्ण खेलका लागि नेपाललाई प्रस्ताव गरेपनि सरकारको अनुमति नपाएपछि एन्फाले कुनै निर्णय लिन सकेको थिएन ।

तर, सरकारले दशैंलगत्तै प्रशिक्षणको अनुमति दिएसँगै एन्फाले बिहीबारबाट प्रशिक्षण आरम्भ गरेको हो । खेल कात्तिक २८ र मंसिर २ गतेका लागि तय भएका छन् ।