१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्याङजाको गल्याङका विपन्नका घर निर्माणमा जुटे युवा


0
Shares

स्याङ्जा । गल्याङ नगरपालिकाले विपन्न परिवारका लागि घर बनाउने कार्य सुरु गरेको छ । स्थानीय युवा क्लबको सक्रियतामा घर निर्माण थालिएको हो ।

तर घर निर्माण गरे वापत युवाहरुले पारिश्रमिक भने पाउँदैनन् । स्याङ्जाको गल्याङ नगरपालिकाले वडा नं १० को पकवादीस्थित बराल गाउँका आर्थिक अवस्था कमजोर भएका घरपरिवारका लागि घर निर्माण गरिदिने भएपछि उनीहरु खुशी भएका छन् ।

स्थानीय युवा क्लबको सक्रियतामा घर निर्माण कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

घर निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्री नगरपालिकाले उपलब्ध गराउने तथा युवा क्लबले श्रमदान गरेर घर निर्माण गर्ने गरी काम सुरु गरिएको नगर प्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकाले जस्तापाता दिएर पनि घर बनाउन नसक्ने परिवारका लागि नगरपालिकाले आफैं घर बनाइदिन लागेको उहाँले बताउनुभयो ।

गल्याङ नगरपालिकाभित्र रहेका ७५ वटा विपन्न परिवारको घर बनाएर विकासलाई संकृतिसँग जोड्ने प्रयास गरेको नगर प्रमुख बताउनुहुन्छ ।

विपन्न परिवारका लागि आवास निर्माण कार्य सुरु भएसँगै विपन्न परिवारको अनुहारमा मुस्कान छाएको छ ।

कुनै पनि शुल्क नलिइकन विपन्नको घर निर्माण गरिरहेको लालीगुराँस युवा क्लबका अध्यक्ष सुजन थापाले बताउनुभयो ।

विपन्नको घर बनाउन पाउँदा खुशी लागेको थापा बताउनुहुन्छ । युवा क्लब र नगरपालिकाको सहयोगमा घर निर्माण भएकोमा खुशी हुँदै विपन्न लालीमाया मश्राली धन्यवाद व्यक्त गर्नुहुन्छ ।

नगरपालिकाका विभिन्न स्थानमा भएका विपन्नका लागि घर बनाउने शिलान्यास कार्यक्रममा नगरप्रमुख आफंै सहभागी भएपछि विपन्न परिवारमा खुशी छाएको छ । उनीहरुले नगरप्रमुखले गरिरहेको कामको प्रशंसा गरिरहेका छन् ।