
काठमाडौं, कात्तिक १५ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ ।
गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ ।
मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ ।
तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्रीमात्रै भारतबाट ल्याउने गरिएको थियो । गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो ।
विश्वभरि फैलिएको कोरोनाभाइरसका कारण यसअघि फूलले बजार नपाएपनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्नेछ । स्थानीय फूल फुलिरहेका छन्, ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ ।
व्यवसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुनाले उत्पादन राम्रो रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमारकसजू श्रेष्ठले बताउनुभयो ।
अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्छ । एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म तिर्नुपर्ने देखिन्छ । गत वर्ष रु ५० देखि ६० बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरको छ ।
विगतका वर्षमा तिहारमा मात्रै रु १५ करोड फूलको कारोबार हुने गरेको थियो ।
श्रेष्ठले भन्नुभयो-‘यस वर्ष भने बजारमा माग कमी भएकाले कारोबारमा केही कमी हुन्छ ।’
अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले ५ प्रतिशतमात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा करिब १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।
यस वर्ष समय-समयमा पानी परिरहेकाले काठमाडौं उपत्यकाका तीन जिल्लासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि काठमाडौं उपत्यकामा नै सबैभन्दा बढी ६० प्रतिशत मालाको माग छ ।
अघिल्ला वर्षको तुलनामा कारोबारमा कमी
यस वर्ष फूलको कारोबारमा कमी आउने पक्का भएको छ । कोरोनाका कारण गत चैतदेखि असारसम्म फूलको कारोबार शून्य रहेको र पछिल्लो समय नगन्य मात्रामा कारोबार भएकाले अपेक्षाअनुरुप कारोबार नहुने भएको हो ।
अघिल्ला वर्षमा रु दुई अर्ब ४२ करोडको फूलको कारोबार हुने गरेको थियो । चालू आवमा रु तीन अर्ब फूलको कारोबार हुने अनुमान गरेपनि कारोनाका कारण बजारमा चहलपहल नहुँदा अनुमानभन्दा कम हुने निश्चित छ ।
तिहार र अन्य मौसममा गरी रु ११ करोड बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आएको छ ।
यसअघि, कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।
तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरेपनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ ।
अष्ट्रेलिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
नेपालमा व्यावसायिकरूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । यहाँ लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।
नेपालमा वि.सं. २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकाससँगै फस्टाउँदै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ३०० व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् ।
फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्