
काठमाडौं, कात्तिक १५ । विज्ञापनरहित (क्लिनफिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् ।
विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिनफिड दिँदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरुको छ ।
यसबाहेक विज्ञापन नीति लागू भएपछि स्वदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण हुन नदिन र समग्र विज्ञापन बजारको व्यवस्थापन तथा नियमनको लागि चुनौतीसमेत बढेको विज्ञहरुले बताएका छन् ।
नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारणमा विज्ञापनरहित (क्लिनफिड) नीति लागू भएको एक साता पुगेको छ ।
तर, कतिपय च्यानलहरुले क्लिनफिडका लागि आवश्यक उपकरण जडान गरिनसक्दा प्रसारण बन्द छ ।
क्लिनफिडका लागि प्रयोग हुने उपकरणको लागत उच्च हुने, सञ्चालन लागत र स्याटेलाइटको लागत बढ्ने भएकाले ग्राहकले तिर्नुपर्ने शुल्क पनि बढ्नसक्ने टेलिभिजन वितरकहरुले बताएका छन् ।
नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले क्लिनफिडका लागि टेलिभिजन प्रसारकहरुले प्रविधिमा ठूलो लगानी गर्नुपर्दा खर्च बढेको बताउनुभयो । त्यसैले ग्राहकले तिर्नुपर्ने शुल्क पनि अहिलेकोभन्दा बढ्ने उहाँको भनाइ छ ।
सरकारले आधारभूत सेवा शुल्क निर्धारण गर्ने र विदेशी च्यानललाई प्याकेजमा हेर्न पाउने व्यवस्था नगरे ग्राहकले तिर्नुपर्ने शुल्क निकट भविष्यमा नै बढ्ने अध्यक्ष शर्माले बताउनुभयो ।
आधारभूत प्याकेजबाहेकका च्यानलहरुमा मनपर्ने च्यानलमात्रै हेर्न पाउने सुविधा नदिने हो भने अहिलेको शुल्कमा २५ देखि ३० प्रतिशतसम्म वृद्धि हुने उहाँको भनाइ छ ।
क्लिनफिड लागू हनुभन्दा पहिले अधिकांश विदेशी च्यानल डाउनलिंक अनुमति लिएर प्रसारण गर्दै आएका थिए । तर, क्लिनफिड लागू हुँदा दुवैतर्फ खर्च बढ्ने भएकाले भविष्यमा शुल्क बढाउनुपर्ने अवस्था आउने वितरकहरुको भनाइ छ ।
तर, अहिले क्लिनफिडका कारण कतिपय विदेशी च्यानल बन्द भएकाले तत्कालनका लागि शुल्क बढाइहाल्नुपर्ने अवस्था नरहेको पनि उनीहरुको भनाइ छ ।
नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल (शशी)ले विदेशी टेलिभिजन प्रसारणमा क्लिनफिड लागू भएपनि नेपाली टेलिभिजनबाट ‘डब’ विज्ञापन प्रसारण भइरहेकाले चुनौती अझैपनि बाँकी रहेको बताउनुभयो ।
नेपाली टेलिभिजन प्रसारकहरुले कुनैपनि विदेशी डब विज्ञापन र विदेशी भाषाको विज्ञापन बजाउन पाउँदैनन् ।
सरकारले २०७६ कात्तिक ८ गतेदेखि विज्ञापन नीति लागू भएपनि नेपाली टेलिभिजनहरुले डब विज्ञापन बजाइदिँदा चुनौती थपिएको उहाँको भनाइ छ । तर, विज्ञापन बोर्डले यसको व्यवस्थापन सहजै गर्ने विश्वास रिजालको छ ।
सञ्चारविज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौती धेरै भएको बताउनुभयो ।
विज्ञापन बोर्डसामु विज्ञापनदाता, विज्ञापन एजेन्सी, विज्ञापन कर्ममा लागेका व्यक्तिहरु, उद्योगपति, व्यापारी र उपभोक्ता गरी पाँचओटै पक्षलाई समन्वय गर्नुपर्ने प्रमुख चुनौती रहेको उहाँको भनाइ छ ।
यस्तै, समग्र विज्ञापन बजारको अनुगमन गर्नुपर्ने चुनौती पनि रहेको छ । त्यसैले बोर्डमा व्यावसायिक व्यक्तिहरु संलग्न हुनुपर्ने हुमागाईंले बताउनुभयो ।
सरकारले २०७६ कात्तिक ८ गतेदेखि विज्ञापन नीति लागू गरेपछि क्लिनफिड कार्यान्वयनमा ल्याउनका लागि एक वर्ष अर्थात् २०७७ कात्तिक ७ गतेसम्मको समय दिइएको थियो ।
कात्तिक ७ गतेपछि किल्नफिड लागू भएको छ । तर, आवश्यक तयारी नपुगेको भन्दै अधिकांश विदेशी च्यानलहरु बन्द छन् ।
त्यसैले नेपाली टेलिभिजनमा प्रसारण हुने विदेशी विज्ञापन र विज्ञापनरहित विदेशी च्यानलको व्यवस्थापन तथा नियमन र शुल्क व्यवस्थापनमा विज्ञापन बोर्डका लागि चुनौती धेरै नै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्