१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपालमा ७० ओटा आधुनिक सहरको परिकल्पना गरी काम अघि बढ्दै


13
Shares

काठमाडौं, कात्तिक १५ । आज ‘विश्व सहरीकरण दिवस २०२०’ विश्वभरि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

विश्वमा अहिले कोरोनाको कहर र फैलिँदो संक्रमणका कारण औपचारिक कार्यक्रम भएका छैनन् । यद्यपि, विभिन्न ‘फोरम’हरु र ‘भर्चुअल सेमिनार’हरु भइरहेका छन् ।

विश्वभरि विश्व सहरीकरण दिवस ‘आफ्नो सहर र समुदायलाई जोगाएर राखौं र महत्व दिऔं’ भनेर मनाइरहेको छ ।

नेपालले ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र सहर’ भन्ने नाराका साथ मनाइरहेको छ ।

अक्टोबर ३१, २०१४ मा पहिलो सहरीकरण दिवस मनाइएको थियो । यो सातौं विश्व सहरीकरण दिवस हो ।

व्यवस्थित सहर भन्नेबित्तिकै जनमैत्री, पर्यावरणमैत्री र वैज्ञानिक व्यवस्थापन भएको बुझिन्छ । यसका साथै सहरमा बस्ने समुदायलाई आवास, यातायात, सञ्चार र अन्य सेवा–सुविधाहरु सहज र सघन ढंगले उपलब्ध गराउने गरी योजना बनाइएको हुन्छ ।

बढ्दो अव्यवस्थित सहरीकरणले काठमाडौंजस्तै देशका अन्य ठूला सहरहरु र सहरउन्मुख नगर/गाउँहरु आक्रान्त बन्दै गएका छन् ।

नेपाल सरकारले अहिले देशका विभिन्न स्थानीय तहमा ७० ओटा आधुनिक सहरको परिकल्पना गरी काम अघि बढाएको छ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मध्यपहाडी लोकमार्गअन्तर्गत् विभिन्न १० ओटा सहर निर्माणका लागि पनि काम भइरहेको बताउनुभयो ।

विश्व सहरीकरण दिवसका अवसरमा मन्त्री मानन्धरले सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानसँग जोडेर मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले सहरी जीवन र अर्थतन्त्रलाई चलायमान बनाउन नयाँ व्यवसाय गर्ने युवाहरुलाई सीपमूलक कार्यमा प्रवर्द्धन गर्न ‘काठमाडौं बिजनेस हब कार्यक्रम’, सहरमा बस्ने महिलाहरुलाई उद्यमशील बनाउन महिला उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

महानगरले सहरी वातावरण प्रवर्द्धनका लागि खुला र सामुदायिक स्थानमा ३० ओटा पार्क निर्माणका लागि डिजाइन सम्पन्न गरी निर्माण सुरु भएको बस्नेतले बताउनुभयो ।

सहरमा खानेपानी, यातायातको समस्या वातावरणीय, र नदीनाला प्रदूषणले सहरी जीवन आक्रान्त बनेको छ ।