
काठमाडौं, कात्तिक १५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग तत्काल सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको छ ।
संवादहीनताको ११ दिनपछि शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच भएको भेटवार्तामा दाहालले तत्काल सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभएको हो ।
मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिस, कर्णाली प्रदेश प्रकरण, ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँगको भेट र पर्सा प्रकरणपछि नेकपाभित्र ओली र दाहाल–नेपाल खेमाबीचको विवादले उत्कर्ष रुप लिएपछि दुवै अध्यक्षबीच संवाद टुटेको थियो ।
शनिबारको छलफलमा दाहालले नेकपाभित्र उब्जिएका समसामयिक विषयवस्तुमाथि छलफल गर्दै उक्त विषयउपर छलफलका लागि सचिवालय बैठक बोलाउनुपर्ने बताउनुभएको हो । यद्यपि, बैठकको मिति भने तय भएको छैन ।
सचिवालय बैठक बोलाउन प्रधानमन्त्री ओली सकारात्मक भएको नेकपाका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभएको छ ।
सचिवालय बैठकको माग गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै अध्यक्षलाई लिखित पत्रसमेत बुझाउनुभएको छ ।
पार्टीमा अनुमोदन नगराइ ओलीले पछिल्ला नियुक्तिमा एकपक्षीय निर्णय लिएको इतर खेमाले आरोप लगाएपछि दाहाल र ओलीबीच सुरु भएको तिक्तता र संवादहीनताको उक्त अवस्था भने शनिबारको भेटले अन्त्य गरिदिएको छ ।
प्रतिक्रिया दिनुहोस्