१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अर्थतन्त्रमा गम्भीर संकुचन, पुरानै लयमा फर्काउन चुनौतीपूर्ण : अर्थमन्त्री


0
Shares

काठमाडौं, कात्तिक १५ । अर्थमन्त्री विष्णु पौडेलले कोभिड-१९ का कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भीर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखापरेको बताउनुभएको छ ।

शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीहरुसँग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले उत्पादन र रोजगारीमा परेको असरले देशको अर्थतन्त्रमा गम्भीर संकुचन देखापरेको बताउनुभएको हो ।

कोभिडको कारण देखापरेको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण भएपनि आफूले अधिकतम् प्रयास गर्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य सजगता अपनाउँदै उत्पादन बढाउने र रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ अर्थमन्त्री पौडेलले जोड दिनुभयो ।

मानिसको जीवन र जीविकाको रक्षाको निमित्त अहिलेको परिस्थितिको सीमाभित्र रहेर चुनौतीहरुलाई सामना गर्दै रोजगारी बढाउनेसमेत अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभयो ।

त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदन्डलाई अपनाएर आर्थिक क्रियाकलापलाई अगाडि बढाइ समग्र आर्थिक जीवनलाई गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।