१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तातोपानी नाकाबाट नेपाली व्यापारीका सामान भित्रन थाल्यो


13
Shares

काठमाडौं, कात्तिक १५ । पटक–पटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुक्खा बन्दरगाह कोभिड–१९ रोकथामका लागि स्वास्थ्य मापदन्ड अपनाइ सुचारु भएको छ ।

कोरोना महामारी र बाढी–पहिरोका कारण पटक–पटक बन्द भएको नाका बिहीबारबाट खुलेपछि नेपालतर्फ सामान आयात हुन थालेको छ ।

वि.सं. २०७२ सालको भूकम्पपछि लामो समय बन्द भएर खुलेको नाका केही समयमा नै पुनः बन्द भएको थियो ।

बीचमा खुलेको नाका पछिल्लोपटक संक्रमणको जोखिमका कारण पुनः बन्द हुन पुगेको थियो ।

तर, अहिले भने संक्रमण रोकथामका लागि नाकामा उच्च सावधानी अपनाउँदै चिनियाँ व्यापारीले अलपत्र परेको नेपाली व्यवसायीका सामान नेपाल पठाउन थालेका हुन् ।

अहिले नेपालतर्फको पुरानो भन्सार यार्डमा चिनियाँ कन्टेनरले नै सामान पुर्‍याउन आउने गरेको छ ।

तातोपानी भन्सार सुक्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदन्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात सुरु भएको बताउनुभयो ।

अहिले मितेरीपुल वारिसम्म चिनियाँ कन्टेनरले सामान ल्याइदिने गरेका छन् ।

चिनियाँ पक्षले नेपालको पुरानो भन्सार यार्डमा सामान ल्याइदिने र त्यहाँबाट चिनियाँ कन्टेनर फर्किएपछिमात्रै नेपाली कामदार र नेपालको कन्टेनर जाने व्यवस्था मिलाइएको छ ।

लामो समय नाका सञ्चालन नहुँदा स्याउलगायतका खाद्यसामग्री आयात गर्ने व्यापारी मर्कामा परेका थिए ।

आफूहरुले आयात गरेको स्याउ तीन लटसम्म कुहिएको व्यापारीहरुले बताएका छन् । अब भने नाका निरन्तर खुल्नुपर्ने उनीहरुको माग छ ।

नाका सञ्चालनामा आउँदा स्थानीय बासिन्दालाईसमेत रोजगारीको अवसर हुने भएकोले नाका निरन्तर खुल्नुपर्ने स्थानीय श्रमिकहरुले बताएका छन् ।

सामान लोड गर्ने नेपाली श्रमिकलाई क्वारेन्टिनमा राखिएको छ भने प्रत्येक १४ दिनमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

नेपालतर्फका सवारी–साधनहरु सामान लिन जानका लागि अनिवार्य निर्मलीकरण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

नाका खुलेसँगै दैनिक चारदेखि छओटा कन्टेनरसम्म सामान आयात भइराखेको भन्सार कार्यालयले बताएको छ ।