१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बञ्चरेडाँडामा एक महिनाभित्र फोहोर व्यवस्थापन गराउन निर्देशन


0
Shares

काठमाडौं, कात्तिक १५ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिनाभित्र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्नेगरी काम सकाउन निर्देशन दिनुभएको छ ।

उहाँले कुनैपनि बहानामा आलटाल नगरी दीर्घकालसम्म फोहोर विसर्जन गर्न मिल्नेगरी काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो ।

सो स्थलको शुक्रबार निरीक्षणका क्रममा मन्त्री श्रेष्ठलाई कामको जिम्मेवारी पाएको लुम्बिनी–कोसी एन्ड न्यौपाने जेभीका प्रतिनिधि डम्बरबहादुर न्यौपानेले आगामी मंसिर १ गतेदेखि काठमाडौं र ललितपुरको फोहोर विसर्जन गर्न मिल्नेगरी काम भइरहेको अवगत गराउनुभएको थियो ।

कुल एक हजार ७९२ रोपनी जग्गा रहेको सो क्षेत्रमा अहिलेसम्म ल्यान्डफिल साइट जाने बाटाको निर्माण, डाँडा कटान, बाँध निर्माण, रातोमाटो बिच्छ्याउने काम, ग्याबिङ पर्खाल निर्माण र दुई भवन निर्माण सम्पन्न भएका छन् ।

अब फोहोर विसर्जन गर्ने स्थानबाट लिचेड पोखरीसम्म पुग्ने ह्युमपाइप राख्ने र लिचेड पोखरी निर्माण गर्न बाँकी छ ।

मन्त्रीका साथ मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाल, उपमहानिर्देशक पद्मकुमार मैनालीसहितको टोली निरीक्षणमा पुगेको थियो ।