
काठमाडौं । मूल्यमा निरन्तर उतारचढाव भएसँगै चालू आर्थिक वर्ष २०७७/०७८ मा पनि सुनको आयात बढ्न सकेको छैन ।
मूल्य निरन्तर बढेकै कारण गत आर्थिक वर्षमा सुनको आयातमा गिरावट आएको थियो । नेपालमा सामान्य अवस्था हुँदा ३ महिनामा १ हजार ८०० केजीको हाराहारीमा सुन आयात हुने गरेको थियो ।
तर, चालू आर्थिक वर्षको पहिलो ३ महिनामा १०० केजी मात्र सुन आयात भएको छ । असोजसम्म ७३ करोड ७० लाख रुपैयाँ बराबरको सुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत वर्षको यही अवधिमा ६ करोड रुपैयाँ बराबरको मात्र सुन आयात भएको थियो । त्यसको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रैमासमा सुनको आयात बढेको छ ।
तर, त्यो औसतभन्दा निकै कम भएको सुन व्यवसायीको भनाइ छ । आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमासमा भने ८ अर्ब ६५ करोड रुपैयाँ बराबरको १ हजार ८७३ केजी सुन आयात भएको थियो ।
अघिल्लो आर्थिक वर्षमा ३४ अर्ब ६३ करोड रुपैयाँको सुन आयात भएको थियो । तर, गत वर्षमा भने १३ अर्ब ४६ करोडको मात्र सुन आयात भएको थियो ।
गत आर्थिक वर्षको सुरूको अवधिमा अमेरिका र चीनबीचको व्यापार युद्ध र पछिल्लो अवधिमा कोरोना प्रभावका कारण सुनको मूल्य बढेसँगै आयातमा कमी आएको हो ।
कोरोना भाइरसको प्रभावका कारण सुनको आयात घटेको बताइएको छ । कोरोनाका कारण आम नेपालीको क्रयशक्ति नै घटेको छ ।
यो अवस्थामा सुनको मूल्य बढ्दा अहिले व्यवसाय पनि प्रभावित भएको छ । गतवर्षको असारसम्म सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँको हारहारीमा थियो ।
अमेरिका र चीनको व्यापार युद्धलगायत कारण त्यो बढेर गत आवमा ८० हजार रुपैयाँका हाराहारीमा पुगेको थियो ।
कोरोना भाइरसको प्रभावले सुनको मूल्य बढेर १ लाख ३ हजार ५०० सम्म पुगेको थियो जुन अहिले झरेर प्रतितोला ९५ हजार रुपैयाँको हाराहारीमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्